जसपाले बोलायो कार्यकारिणी समिति बैठक

Jasapa leaders
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार-विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदा बैठक राखिएको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज जारी गरेको सूचनामा उल्लेख छ।

जेठ ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेदेखि हुनेछ। जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादव पक्षबीच विवाद छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावमा ठाकुर पक्ष तटस्थ बसेको थियो।

यसैबीच जसपाको ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको खबर बाहिरिएको थियो। साथै, जसपाले आफ्नै नेतृत्वमा सरकार बने मात्रै नयाँ सरकार गठनमा लाग्ने जनाएको छ। अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गरेर अरुको सरकारमा जसपा सहभागी नहुने प्रष्ट पारेका छन्।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क र वितर्क एवम अड्कलबाजी भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जसपा सरकारमा सहभागी नभइ प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुने अवस्थामा सरकार गठन गनृ अगाडि बढ्न सकिने छ।’

आठ बुँदे पत्रमा पार्टीभित्र देखिएको समस्यालाई विधान अन्तर्गत नै रहेर समाधान खोजिने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने उल्लेख छ। पार्टीविरुद्धका गतिविधि र अभिव्यक्तिहरु सबै बन्द गर्न अनुरोध गरेको छ। जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा मत बाझिएको थियो। ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षले विश्वासको मतको विपक्षमा मत दिएको थियो।