एमाले कार्यदलको पहिलो बैठक आज

UML_Karyadal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक मंगलबार बस्ने भएको छ। कार्यदल गठन भएपश्चात मंगलबार दिउँसो सिंहदरबारमा पहिलो पटक बैठक बस्न लागेको हो। दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए।

कार्यदलमा सबै सदस्य उपस्थित हुने या नहुनेबारे भने केही खुलेको छैन। कार्यदल सदस्य शंकर पोखरेल दाङ गएका छन् भने अर्का संयोजक भीम रावल आँखामा समस्या भएका कारण आराम गरिरहेका छन्। नेम्वाङले भने, ‘को-को सदस्य उपस्थित हुनुहुन्छ, त्यो अझै तय भएको छैन।’

उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन्। वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन्। एमालेभित्र लामो समयदेखिको आन्तरिक विवाद समाधानको जिम्मेवारी १० नेताले पाएका छन्। दुवै तर्फबाट पाँच-पाँच जना सदस्यहरु कार्यदलमा छन्।

कार्यदललाई तीन दिनको समयसिमा दिइएपनि नेताहरुको व्यस्थता, छलफल र प्रतिवेदन लेखनमा समय लाग्‍ने भएकोले केही समय लम्बिने भएको छ। गएको वैशाख ३१ मा ओली र नेपाल पक्षबीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ। त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति पनि जुटेको छ।

एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ। नेम्वाङले अध्यक्ष ओली र नेता नेपालसँग अनौपचारिक परामर्शमा गृहकार्य भइरहेको जानकारी दिएका छन्।

कार्यदलमा अध्यक्ष ओलीतर्फबाट नेम्वाङको संयोजकत्वमा नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्। त्यस्तै नेता नेपालको तर्फबाट संयोजक रावलसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन्।