सबै पार्टी र नेता निरीह भए : डा. भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ गएको बताएका छन्। कोरोना महामारी र अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश गम्भीर संकटमा फस्न लागेको डा. भट्टराईले बताए।

‘देश गम्भीर संकटमा फस्दैछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न वैकल्पिक सरकार बन्न।’ भट्टराईले आफूले गरेको राष्ट्रिय एकताको कुरामा विरोधको कुनै तुक नभएको पनि बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले पछिल्लो सरकार गठनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक भेटेको आरोप लागेपछि उनले राष्ट्रिय एकताको कुरा गरेर आफूले अपराध नगरेको प्रतिक्रिया दिए। भट्टराईले अगाडि लेखेका छन्, ‘संविधानका स्तम्भ एक एक गरी ढल्दैछन्! सबै पार्टी/नेता निरीह! सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन प्रयास भइरहेको बेला बाबुरामले पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन अपिल गरेका थिए। त्यसपछि उनलाई आफैलाई प्रधानमन्त्री बन्ने मन भए पनि त्यो असफल भएपछि राष्ट्रिय सरकार बनाउनतिर लागेको आरोप लागेको थियो।

नेकपा एमालेका नेता महेश बस्नेतले ओलीसँग पटक पटक भेटी प्रधानमन्त्री बन्न बाबुरामले प्रस्ताव गरेको आरोपसमेत लगाएका थिए। भट्टराईले आफूले प्रधानमन्त्रीसँग भेट गरेको स्विकारेका छन्। यद्यपि उनले राष्ट्रिय एकताको कुरा गरेर आफूले अपराध नगरेको दाबी गरेका हुन्।