काठमाडौं। भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले भरतपुर महानगर जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको भन्दै भ्रमको खेती नगर्न आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै महानगर प्रमुख दाहालले यस्तो आग्रह गरेकी हुन्।
कोरोनाबाट मृत्यु भएकाको शव जलाएर भरतपुर महानगरले २८ हजार असुलेको भन्ने केही सञ्चारमाध्यममा आएको समाचारप्रति मेयर दाहालले खण्डन गरेकी छन्। कोरोनाको यस्तो भयाबह अवस्थामा पनि झुटको राजनीती र भ्रमको खेति गर्दै घटिया राजनिती कहिले सम्म गर्छौं ? भन्दै मेयर दाहालले प्रश्न समेत गरेकी छन्। सञ्चारमाध्यममा आएको उक्त समाचारप्रति मेयर दाहालले घोर आपत्ति जनाएकी छन्।
दाहालले लेखेकी छन्, ‛ उक्त समाचार पूर्ण रूपले कपोकल्पित र झुटो रहेको साथै महानगरले कुनै पनि लास व्यवस्थापन गरेर पैसा नलिएको र शव जलाउने कार्य महानगरको नरहेको र नभएको प्रष्ट पार्न चाहन्छु। महानगरले यस्तो गर्यो भनेर गरिएको यस्ता खाले भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई आवश्यक कार्बाहीको माग गर्दछु।’
मेयर दाहालले भरतपुर महानगरले बिगतदेखि हालसम्म कोरोना कहरमा जनउत्तरदायी भई आफ्नो बलबुताले भ्याएसम्म ईमान्दारितापूर्ण उपाए र कोसिस गर्दै आएको प्रष्ट पारेकी छन्। उनले कोरोनाबाट मृत्यु भएकाहरूको शवको व्यवस्थापन गरिने दायित्व केन्द्र सरकारले सेना प्रहरी प्रशासनलाई तोकेको बताएकी छन्। आजसम्म ब्यवस्थापन त्यसरीनै हुँदै आएको उनले बताइन्। स्थानीय सरकारको तर्फबाट बिगत देखिनै सम्पूर्ण शव व्यवस्थापनका लागि महानगरको वअद र चालकको व्यवस्था गर्दै आएको उनले बताएकी छन्।
हाल महानगरले संक्रमित बिरामीका लागि उपचारमा सहज होस् भनेर ४ वटा एम्बुलेन्स निशुल्क व्यवस्था गरेको मेयर दाहालले बताइन्। थप फेरि शव बहानको पनि निशुल्क व्यवस्था महानगरले गर्ने गरि छिट्टै तयारी गरेको उनले जानकारी दिइन्। अक्सिजन सहितको आईसोलेसनको महानगर अन्तर्गत ३० बेडको तयार गरिएको र एन्टिजेन परिक्षण ४ ठाउँबाट अगाडी बढेको मेयर दाहालले स्टाट्समा उल्लेख गरेकी छन्। मेयर दाहालले महानगरबासीका लागि र भरतपुरमा उपचार गर्न आउने सबै विरामीका लागि महानगर आवश्यक सहयोगका लागि तयार रहेको बताइन्।



लोकपाटी न्यूज

