पार्टीमा देखिएको विवाद मिल्छ : ओली

KP sharma Oli
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधान उन्मुख भएको बताएका छन्। आइतबार सिंहदरबारमा नेता माधवकुमार नेपालसँग भएको भेटवार्तापछि उनले पार्टीको विवाद समाधानतर्फ अघि बढेको बताएका हुन्।

पार्टी विवाद मिल्नेतर्फ गएको हो भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘एकदम मिल्नेतर्फ गएको छ।’ एमालेभित्र गत फागुन २८ का निर्णय फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउनु पर्ने अडानमा नेता नेपाल छन्।

नेता नेपालले कार्यदललाई तीन दिनको समय दिने आफूले प्रस्ताव गरेको बताए। तर प्रधानमन्त्री ओलीले कार्यदलका लागि थप समय चाहिने बताएका छन्। नेपालले भने, ‘मैले अघि सारेको ६बुँदे प्रस्तावमा आधारित भएर पार्टी संरचनालाई २ जेठ ०७५ मा फर्काउन कार्यदल बनेको छ। सकभर तीन दिनभित्र काम सक्न भनिएको छ, तर समय पुग्दैन भन्ने कुरा पनि आएको छ। कार्यदलले छिट्टै काम सक्नेछ।’

यसबारे ओलीले पटक-पटक नेपालसँग वार्ता गरिरहेका छन्। आजकै बैठकले पार्टीभित्रका विवाद मिलाउन ओली र नेपाल पक्षका १० नेता रहेको कार्यदलसमेत गठन गरिएको छ। कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनेछन्। नेपाल पक्षबाट भने भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन्।