काठमाडौं। नेकपा (एमाले) भित्रको विवाद समाधानका लागि कार्यदल गठन भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको छलफलपछि नेताहरु सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा कार्यदलको टुंगो लगाइएको हो।
कार्यदलमा दुवै पक्षबाट पाँच–पाँचजन सदस्य रहेका छन्। उक्त कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। त्यस्तै, नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका नेता नेपालले जानकारी दिए।
कार्यदललाई तीन दिनभित्र काम सक्न निर्देशन दिइएको छ। गएको शुक्रबार साँझ सिंहदरबारमा नै केपी ओली र नेपालबीच भएको बैठकले ०७५ जेठ २ आसपास फर्कनका लागि कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा ओली र नेपाललाई दिएको थियो।



लोकपाटी न्यूज

