काठमाडौं। नेकपा एमालेले पार्टीको आन्तरिक विवाद समाधान गर्न कार्यदल बनाएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको हो। कार्यदलमा दुबै पक्षका ५/५ नेता रहेका छन्।
ओली पक्षबाट सुवास नेम्वाङ र आफ्नो तर्फबाट भीम रावलको नेतृत्वमा कार्यदलमा सदस्य रहने नेता नेपालले बताए। कार्यदलमा नेपाल पक्षबाट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन्। यस्तै, ओली पक्षबाट नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहेका छन्।
वार्ताबाट बाहिरिदै गर्दा प्रधानमन्त्री ओलीले पनि पार्टी विवाद समाधानतर्फ जाँदै गरेको प्रतिक्रिया दिएका थिए। नेता नेपालले कार्यदललाई तीन दिनको समय दिने आफूले प्रस्ताव गरेको बताए। तर प्रधानमन्त्री ओलीले कार्यदलका लागि थप समय चाहिने बताएका छन्।
वार्तापछि नेपालले पत्रकारहरूसँग भने, ‘मैले अघि सारेको ६बुँदे प्रस्तावमा आधारित भएर पार्टी संरचनालाई २ जेठ ०७५ मा फर्काउन कार्यदल बनेको छ। सकभर तीन दिनभित्र काम सक्न भनिएको छ, तर समय पुग्दैन भन्ने कुरा पनि आएको छ। कार्यदलले छिट्टै काम सक्नेछ।’



लोकपाटी न्यूज

