काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच अहिले छलफल भइरहेको छ। जसपाका एक नेताका अनुसार, दुई अध्यक्षबीच पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा पार्टीभित्रको विवाद मिलाउन अन्तिम प्रयास भइरहेको हो।
‘अध्यक्षहरुबीच पार्टीको विवाद मिलाउन अन्तिम पटक भनेर छलफल सुरु भएको छ,’ ठाकुर निकटका ती नेता भन्छन्, ‘उहाँहरुबीच फाइनल वार्ता भइरहेको छ। आज अन्तिम भनेको भएर यो वार्ता सकरात्मक हुन्छ जस्तो लागेको छैन।’ यादव पक्षले सहमतिका लागि अन्तिम पटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अध्यक्ष छलफलमा बसेका हुन्।
सत्ता समीकरण बनाउने क्रममा विवाद हुँदा पार्टी दुई चिरा भएको छ। प्रधानमन्त्री ओलीको विकल्प खोज्नु हुँदैन पक्षमा अध्यक्ष महन्थ ठाकुर छन् भने उनको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा उपेन्द्र यादव रहेका छन्। प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा यादवले आफ्ना सांसदसहित विपक्षमा मतदान गरेका थिए भने ठाकुरले आफ्ना १५ जना सांसदलाई लिएर तटस्थ बसेका थिए।
नयाँ सरकार बनाउने विषयमा पनि ठाकुर तटस्थ बसेकै कारण ओली पुनः प्रधानमन्त्री बन्न सफल भएका हुन्। त्यसले गर्दा पार्टीमा झन् विवाद उत्पन्न भएको छ। ‘पार्टीमा विवाद कुन रुपसम्मको हो भन्ने कुरा लुकाएर पनि नलुक्ने अवस्थामा पुगिसकेको छ,’ उनले भने, ‘आजको वार्ताले कुनै निचोड निकाल्ने भने पार्टी विभाजनतिरै अघि बढ्छ होला।’
त्यस्तै ठाकुर पक्षले बहुमतले निर्णय गरेको दाबी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि जसपामा विवाद झन चर्किएको छ। संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले महतोलाई संसदीय दलको नेता चयन गर्ने काम अवैध भएको बताएको छ।



लोकपाटी न्यूज

