काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच अहिले दिउँसो वार्ता भइरहेको छ।
शुक्रबार सिंहदरबारमा ओली र नेपाल पक्षका नेताहरुले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेतालाई दिएका थिए। दुई नेताबीचको वार्ताले आइतबार कार्यदल गठन गर्ने बताइएको छ। नेपाल पक्षले सहमति कार्यान्वयनका लागि तत्काल कार्यदल बनाउनुपर्नेमा जोड दिँदै आएको छ।
एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ। ओली र नेपालबीच वैशाख २७ गते करिब चार घण्टा भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो। सोही सहमतिअनुसार शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो।



लोकपाटी न्यूज

