काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल हुँदैछ। पार्टीमा देखिएको विवाद मिलाउन उनीहरू दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटघाट गर्दै छन्।
संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दिउँसो एक बजे दुई नेताबीच भेटघाटको समय तय भएको जानकारी दिए। ‘एक बजे भेट्ने कार्यक्रम तय भएको छ। एजेण्डाबारेमा मलाई जानकारी छैन्,’ उनले भने। दुई नेताबीच विवाद समाधानका लागि कार्यदल बनाउन छलफल हुने बुझिएको छ।
दुई नेताको भेटपछि एमालेभित्रको विवाद समाधानका लागि बनाउने भनिएको कार्यदलको पनि टुंगो लाग्ने सम्भावना छ। यसअघि गएको बिहीबार पनि ओली र नेपालले एक्लाएक्दै भेटेका थिए। त्यसको भोलिपल्ट दुई पक्षका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको थियो।
नेता नेपाल पक्षले एमालेलाई २०७५ जेठ २ मा फर्काउनु पर्ने सर्त राखिरहेको छ। शुक्रबार संस्थापन र नेपाल पक्षबीच भएको छलफलमा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति बनेको थियो। त्यसका लागि कार्यदल बनाउने सहमति बमोजिक कार्यदल बनाउन दुई नेता भेट्न लागेका हुन्।
कार्यदल बनाउने सहमति ओली र नेपालबीच वैशाख ३० गतेको वार्तामा भएको थियो। शुक्रबार भएको वार्तामा भर्खरैमात्र एमाले प्रवेश गरेका रामबहादुर थापालाई पनि समावेश गरिएको भन्दै नेपाल पक्षले आपत्ति जनाएको थियो।



लोकपाटी न्यूज

