ओलीलाई राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको हुँ, अस्वीकार गरे : बाबुराम भट्टराई

Baburam-Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नमानेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार बिहान ट्वीट गर्दै देशलाई निकास दिन प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको प्रस्ताव राखेको तर, ओली नमानेको बताएका हुन्।

भट्टराईले बैशाख २८ गते राति ओलीलाई भेटेका थिए। उनले २९ गते बिहान ट्वीटरमार्फत् देशको संकट हल गर्न चार प्रस्ताव अगाडि सारेका थिए। नेकपा एमालेका सांसद महेश बस्नेतले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर ’प्रधानमन्त्री बनाइदिनुपर्‍यो’ भनेको भनेपछि उनले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिएका हुन्। बस्नेतले भट्टराईले दस दिनको अवधिमा बालुवाटार पुगेर दुईपटक ओलीसँग भेटवार्ता गरेको बताएका थिए।

कुराकानीमा भट्टराईले ओलीसँग अहिलेको परिस्थितिमा देशमा राष्ट्रिय सरकारको आवश्यकता रहेको र त्यसको नेतृत्व आफैले लिनुपर्ने बताएको बस्नेतको दाबी थियो। जवाफमा ओलीले आफूविरुद्ध भट्टराईलगायत पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, रामचन्द्र पौडेल सबै लागेको र आफू १२१ जना सांसद भएको पार्टीको नेता भएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएको बस्नेतको दाबी थियो।

साथै अझै पनि संविधानको धारा ७६(५) बमोजिम सरकार बनाउन सकिने कुरा भट्टराईले बताएका छन्। भट्टराईले लेखेका छन्, ’प्रमले दूतमार्फत् बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊकक भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ। सोचौं!’

 

baburam