काठमाडौं। चालु आर्थिक वर्ष सकिन २ महिनामात्रै बाँकी रहँदा जम्मा ३५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ।
चालु आर्थिक वर्षमा कोरोनाका कारण विकासे आयोेजनाहरूको काम हुन नसक्दा पुँजीगत खर्चको जम्मा ३५.६४ प्रतिशत मात्रै खर्च भएको छ। यस अवधिमा जम्मा १ खर्ब २५ अर्ब खर्च भएको छ। जबकी सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत क्षेत्रका लागि मात्रै ३ खर्ब ५२ अर्ब बजेट छुट्टयाएको थियो।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला दिनमा दैनिक ५० लाखको हाराहारीमा खर्च भइरहेको छ। चालु आर्थिक वर्ष सुरु भएयता नै कोरोनाका कारण श्रमिक कार्यस्थलमा जान नसक्नु, निर्माण सामग्री निर्माणस्थल सम्म पु¥याउन नसक्नु लगायतका कारणले ठूला विकासे आयोजनाले गति लिन सकेका छैनन्। यसकारण पनि विकासे आयोजनामा सोचेअनुरुप विकास खर्च हुन नसकेको बताइन्छ।
यस अवधिमा चालु खर्च भने ६६.३९ प्रतिशत भएको छ। चालु आर्थिक वर्षमा चालु खर्चका लागि ९ खर्ब ४८ अर्ब बजेट छुट्टयाएकोमा ६ खर्ब ३० अर्ब खर्च भएको हो । यस्तै वित्तिय व्यवस्थातर्फ ३९.७७ प्रतिशत अर्थात ६८ करोड ७२ लाख खर्च भएको कार्यालयको तथ्याकं छ। सरकारले चालु आर्थिक वर्षमा वित्तिय व्यवस्थाका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ छुट्टयाएको थियो।
यसरी यस पटक पनि अन्तिम समयमा मात्रै खर्च हुने परिपाटी जारी रहने देखिएको छ। यसरी अन्तिम समयमा मात्रै खर्च हुँदा आर्थिक अनियमितता र भ्रष्टाचार बढ्ने अर्थविद् दिपेन्द्र बहाुदर क्षेत्री बताउछन्। सरकारले सस्तो लोकप्रियताका लागि वर्षौं लाग्ने आयोजना छनोट गर्दा पनि आयोजनाले गति लिन नसकेको उनको विश्लेषण छ।



लोकपाटी न्यूज

