काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेपछि महन्थ ठाकुर र राजेन्द्र महतो पक्षसँग चिढिएको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कारबाहीको चेतावनी दिएको छ। पार्टीको विधान विपरीत महतोलाई दलको नेता घोषणा गरेकोले भन्दै भट्टराई-यादव पक्षले ठाकुर र महतोलाई कारबाही गर्ने चेतावनी दिएको हो।
जसपाका सांसद रामबाबु यादवले पार्टीको विधान विपरीत काम गरेको आरोपमा ठाकुर-महतो पक्षमाथि कारबाही गरिने बताए। शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भए पनि महतोलाई संसदीय दलको नेता विधान विपरीत बनाइएको बताए।
उनले भने, ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ। संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन।’
सांसद यादवले ठाकुर-महतो पक्षले आफूहरूलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए। संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरी प्रचार गरिएको भन्दै उनले विधान विपरीत गर्नेलाई कारबाही गरिने पनि बताए। उनले भने, ‘विधान भन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ। कारबाही हुन बित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ। बस्न इच्छा लागेन भने बाहिर जान्छ।’
जसपा भित्र बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबीच तीव्र मतान्तर भएको छ। दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको संघारमा पुगेको छ।



लोकपाटी न्यूज

