राष्ट्रिय सभामा एमाले उम्मेदवारलाई मत दिने राप्रपाको निर्णय

Raprapa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभामा रिक्त एक सिटका लागि हुन लागेको निर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मत दिन राप्रपा नेताहरुबीच सहमति भएको छ।

त्यसबारे औपचारिक निर्णय नभए पनि आज भएको अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित शीर्ष नेताहरुको बैठकमा सो समझदारी बनाइएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।वागमती प्रदेशमा राप्रपाका दुई प्रदेश सांसद रिता माझी र रिना गुरुङ छन्।

ती नेताले भने, ‘औपचारिक निर्णय गरिएको छैन तर एमालेकै उम्मेदवार थापालाई नै भोट दिने भनी तीन अध्यक्षसहितको शीर्ष नेताहरुको बैठकमा समझदारी भएको छ। ‘सम्भवतः यो निर्णयमा कुनै परिवर्तन नहोला।’

गृहमन्त्री समेत रहेका थापा वागमती प्रदेशबाट माओवादी उम्मेदवारको रुपमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। थापाले माओवादी दल त्याग गरेर एमालेमा गएपछि सो पद रिक्त भएको छ। सोहि रिक्त पदमा जेठ ६ गते निर्वाचन हुन लागेको हो।

एमालेले रिक्त सो पदमा थापालाई नै उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नै पार्टीका कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।