शुकरात प्राचीन दर्शन शास्त्रका एक विद्वान हुन्। इसापूर्व ४७० मा जन्मिएका उने आफ्नो जीवनको ७१ वर्षे उमेरमा पश्चिमा दर्शनशास्त्रलाई उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेले। एथेन्सको धेरै गरिब घरमा जन्मिएका उनी दार्शनिक उपदेश दिन थालेपछि युवालाई बिगार्ने र देवनिन्दा र नास्तिक भएको झूटो दोष लगाएर विष दिएर मारिएको थियो।
शुकरातका अनुसार शिक्षाका वैज्ञानिक र नैतिक गरी दुई पक्ष हुन्छन्। शुकरातको एक प्रसिद्ध भनाइ छ- धर्म नै ज्ञान हो र ज्ञान नै धर्म हो। शुकरातको मुख्य सन्देश आफूलाई चिन भन्ने हो। शुकरात सधैँ सत्यको खोजीमा लागिरहन्थे।
शुकरात ७० वर्षको भइसकेका थिए। विरोधीहरूले उनीमाथि देवी-देवताको अवज्ञा गरेको र एथेन्समा युवा वर्गलाई भ्रष्ट तुल्याएको आरोप लगाए। शुकरातको लोकप्रियता र उनले फैलाएको नयाँ विचारले एथेन्सको राजपरिवार पनि डराइसकेको थियो। त्यसैले देशद्रोहको आरोप लगाएर पक्राउ गर्यो। मुद्दा चलायो। मुद्दाको सुनुवाइक्रममा ज्यूरी-सदस्यहरुले २ सय २१ को विरुद्ध २८० मतले शुकरातलाई अपराधी माने।
एथेन्सका जनता शुकरातको पक्षमा थिए, तसर्थ सरकार शुकरातलाई सार्वजनिक स्थलमा उपस्थित गरेर मृत्युदण्ड दिन डरायो। जेलको कोठाभित्रै विष पिउन लगाउने फैसला गर्यो। शुकरातका मित्रहरूले जेलको सुरक्षा गार्डलाई पैसा खुवाएर हातमा लिई शुकरातलाई भगाउने योजना बनाए तर शुकरातले मानेनन्। उनले भने, ‘म मृत्युदेखि डराउँदिन, निर्वासनमा जानुको बदला एथेन्सको बफादार नागरिक बनेर उदाहरण प्रस्तुत गर्छु।’
अदालतमा पनि उनले आफूलाई निर्दोष साबित गर्ने कुनै कोसिस गरेका थिएनन्। आफूमाथि लगाइएको आरोपको खण्डन पनि गरेनन्। बरु एथेन्सका नागरिकलाई सुखी बनाउने काममा लाग्दै जाने प्रण गरे भने, ‘मसँग जे छ, त्यो एथेन्सको सेवामा समर्पित गर्दै जानेछु। यो मलाई भगवानले दिएको आदेश हो। यो आदेशलाई म तपाईंहरुले दिएको आदेशभन्दा बढी मान्छु। मैले सत्य खोज्न बन्द गरे मलाई रिहा गर्ने तपाईंहरुको शर्तलाई म खारेज गर्छु। सत्यको खोजीमा लाग्ने काम म कदापि रोक्दिनँ।’
एथेन्सको चलन त्यो बेला सजाय पाउने व्यत्तिपले सजायबारे सुझाव दिन सक्थे। आफूले पाएको सजायको बदला यस्तो सजाय लिन्छु भन्न पाउँथे। शुकरातसित जब यसबारे राय मागियो, उनले भने, ‘मलाई लोक-हितकर्ता मानियोस्। ओलम्पिक खेलकुदका विजेतालाई जसरी राज्यले भरण पोषणको भार उठाउँछ, मेरो लागि पनि त्यसै गरियोस्।’
ज्यूरीबाट अन्त्यमा सोधियो, ‘प्राणदण्डबाट मुक्ति पाउन राज्यलाई कति जरिवाना तिर्न तयार छौ ?’ शुकरातले भने, ‘एक मीना (लगभग सय रुपैयाँ।)’
शिष्यहरूले उनलाई सुझाए, ‘तीस मीना दिन तयार छु भन्नुस्। पैसाको बन्दोबस्त हामी गर्छौँ।’ तर शुकरात दुई मीना दिन पनि तयार भएनन्। बरु विष पिएर मर्न तयार भए। विष पिउने दिन पनि साथी तथा शिष्यहरूले उनलाई भने, ‘सूर्यास्तको समय भइसकेको छैन, केही बेर रुक्नुस्। धेरैभन्दा धेरैले सूर्यास्त भएको धेरै समयपछि बल्ल विष पिउँछन्।’
शुकरातले थोरै समयको कुरामा आलटाल गर्नु उचित हुँदैन भनेर कसैको कुरा मानेनन्। जेलका कर्मचारी विष भएको कचौरा लिएर भित्र पसे। कचौरा शुकरातलाई दिँदै रुन थाले। त्यहाँ उपस्थित शुकरातका मित्रगण तथा शिष्यहरू पनि रुन थाले। तर, उनीहरूलाई सम्झाउँदै शुकरात बोल्न थाले, ‘यस्तो समय रोएर मुटु कमजोर पार्नु हुन्न। सबैले धैर्य गरेर यो कष्ट सहनुपर्छ।’
यति भनिसकेपछि विष भएको कचौरा उठाए र पिए। लगत्तै उनका एक शिष्य क्रिटोले उनीसित सोधे, ‘तपाईँको शरीरको अन्त्येष्टि हामीले कसरी गरौं ?’ शुकरातले भने, ‘मरेपछि जुन शरीर बच्छ, त्यो मेरो हुन्न। त्यो त माटो हुन्छ। माटोलाई तिमीहरू जसरी चाहन्छौ, त्यसरी नै संस्कार गर्नु।’
शुकरात मरेपछिको केही दिनमै एथेन्सवासीले गल्ती महसुस गरे। ठुलो पश्चात्ताप गरे। ज-जसले शुकरातमाथि आरोप लगाएका थिए, उनीहरूलाई समाजबाट बहिष्कृत गरिदिए। बहिष्कृतहरू कतिले त आत्महत्यासमेत गरे। शुकरातका केही चर्चित भनाईहरुः
१. अरूको असफलताको कथाबाट तपाईँ सही बाटो पत्ता लगाउने कोसिस गर्नुहोस् । किनकि अरूको कडा मेहनतले जानेको सही र गलत मार्ग तपाईँले सहजै पत्ता लगाउन सक्नुहुनेछ। २. मान्छेले गर्न सक्ने केही कामहरू हुन्छन्। जुन कसैको सहयोग विना नै पनि गर्न सक्छन्।
३. बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाइका साथ बाँच्नुले अर्थ राख्दछ। ४. म कसैलाई केही पनि सिकाउन सक्दिन। म केवल उनीहरूलाई सोच्नेसम्म बनाउन सक्छु। ५. अपमान गर्नेहरूले मलाई कहिल्यै चोट पुर्याउँदैनन् किनभने तिनीहरूले मलाई कहिल्यै पनि पिट्दैनन्। ६. आफैँलाई चिन्नुहोस्।
७. जोसँग आफूसित भएको कुरामा सन्तुष्ट छैन, ऊ आफूसित भए हुन्थ्यो भनेर सोचेको कुराबाट पनि सन्तुष्ट हुन सक्दैन। ८. मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरी गर्नुहोस्। ९. जहाँ श्रद्धा हुन्छ त्यहाँ डर हुन्छ, तर कतिपय ठाउँमा श्रद्धा नहुँदा पनि डर निम्तिन्छ। किनकि डरको दायरा श्रद्धाभन्दा फराकिलो हुन्छ।
१०. मेरो बारेमा एउटा कुरा मलाई मात्र थाहा छ, त्यो हो मलाई केही पनि थाहा छैन। अरूले त मलाई सबै आउँछ भन्ने सोच्छन्। ११. हाम्रा प्रार्थनाहरू सामान्यतया आशीषको लागि मात्रै हुनुपर्छ। किनभने हाम्रोलागि के कुराको आवश्यकता छ भन्ने कुरा भगवानलाई राम्ररी थाहा छ।
१२. विवाह वा व्रह्मचर्य, मानिस चाहे जुन बाटो चुनोस् अन्तिममा पछुतो नै हुन्छ। १३. म केवल यो चाहन्छु कि साधारण मानिसहरूलाई क्षति गर्न कुनै मान्छेमा जति क्षमता हुन्छ। राम्रो कामको लागि उनीहरूको त्यति नै क्षमता असीमित शक्ति बन्न सक्छ। १४. यो संसारमा म बिना पनि गर्न सक्ने कति कुरा छन् !
१५. म राजनीतिज्ञ बन्नु पूर्व एकदमै इमान्दार मानिस थिएँ। १६. झूट आफैमा मात्र खराब हुँदैन, त्यसले मान्छेको आत्मालाई पनि खराब बनाउँछ। १७. सबैभन्दा न्यानो प्रेमको सबैभन्दा चिसो अन्त हुन्छ। १८. नैतिकताको प्रणाली भावनात्मक मूल्यमा आधारित हुन्छ भन्नु केवल भ्रम मात्र हो। यो पूर्ण रूपमा अश्लील अवधारणा पनि हो, जसमा कुनै सत्य छैन।
१९. सबै विवाहमा आधारित हुन्छ। यदि तपाईंले असल श्रीमती पाउनुभयो भने तपाईँ सुखद दाम्पत्य जीवन जिउनुहुनेछ र यदि खराब मान्छे पाउनुभयो भने तपाईं दार्शनिक बन्नुहुनेछ। २०. प्रायः गहन इच्छाले नै विकराल घृणाको जन्म हुन्छ। २१. न्यायभन्दा पहिले कुनै चीजलाई प्राथमिकता दिइनु हुँदैन।
२२. खुसी र दुःख ज्योति र छाया जत्तिकै नजिक छ। २३. म एथेन्सियाली वा ग्रीक होइन, संसारको एक नागरिक हुँ। २४. राम्रो कुरा केवल ज्ञान हो भने खराब अज्ञानता हो। २५. मान्छेबाट प्रशंसा पाउने सबभन्दा राम्रो उपाय भनेको आफूले सोचेको जस्तो हुनु चाहनु हो। २६. आलस्यमा जीवन जिउनुभन्दा आत्महत्या गर्नु ठिक हो।



लोकपाटी न्यूज

