ओली जेठ २ मा फर्किन तयार हुनुहुन्छ : नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीलाई २०७५ को जेठ २ मा फर्काउने सहमति भएको बताएका छन्। शुक्रबार संघीय संसद भवनमा कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले आफूहरूको बटम लाइनमा प्रधानमन्त्री ओली सहमत भएको बताए।

प्रधानमन्त्री ओली गत फागुन २८ गतेको निर्णय फिर्ता र पार्टीलाई जेठ २ मा फर्काउन सहमति जनाएपछि अगाडि बढ्न चाहेको उनको भनाइ छ। ‘फागुन २८ को निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्थामा पुग्ने हाम्रो बटम लाइन थियो,’ नेता नेपालले भने, ‘पार्टी अध्यक्ष केपी ओलीले त्यसमा सहमति हुन्छ भन्नु भएको छ।’

नेता नेपालका अनुसार यो विषयमा सहमतिको मोडालिटी बनाउन कार्यदल बनाउने सहमति भएको छ। उनले भने, ‘पार्टी मोडालिटीका विषयमा छलफल गर्न कार्यदल बनाउने सहमति भएको छ। त्यसमा केही स्पष्टताको आवश्यकता पर्ला। त्यसका निम्ति छलफल गरेर टुंगोमा पुग्छौं।’

बिहीबार ओली-नेपालबीच झण्डै तीन घण्टा छलफलपछि पार्टी विवाद मिलाउने सहमति जुटेको थियो। उनीहरूले पार्टी विवाद समाधान गर्न ९ सदस्यीय कार्यदल बनाउने सहमति गरेका छन्। पार्टीभित्र विवाद समाधान गर्न ओली-नेपालबिच आज साँझ सिंहदरबारमा छलफल हुने भएको छ।