काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुको बैठक जारी छ।
शुक्रबार ११ बजेपछि सुरु भएको बैठकमा कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहति शीर्ष नेता र जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी छन्।
एक नेताका अनुसार गठबन्धनको सरकार बनाउन असफल भएपछि त्यसको समीक्षा र अबको विपक्षी रणनीतिबारे बैठकमा छलफल भइरहेको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी र माओवादीको स्थायी कमिटी बैठकले नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले गरेको प्रतिबद्धताअनुसार अन्तिम समयमा पछि हटेको निष्कर्ष निकालेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकारका लागि तीन दिनभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन्।
तर, विपक्षी गठबन्धन बहुमत जुटाएर बिहिबार राति ९ बजेसम्म दाबी पेस गर्न नगएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसद्को ठूलो दलको नेताको हैसियतमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन्। प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।



लोकपाटी न्यूज

