देश बचाउन राष्ट्रिय मुक्ति सेना गठन गर्नुपर्ने हुन सक्छ : देव गुरुङ

dev-gurung-1
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रमुख सचेतक देव गुरुङले सत्तामा राष्ट्रिय आत्मसमर्पणवादी शक्ति हावी भएकाले कुनै पनि बेला देशको स्वाधीनता समाप्त हुन सक्ने बताएका छन्।

मार्क्सवादी ज्ञान केन्द्रद्घारा आयोजित १५ दिने कक्षाको दशौं दिनको समसामयिक राजनीति र समाजवादको भविष्य विषयमा बोल्दै नेता गुरूङले उक्त कुरा बताएका हुन्। बिहीबार राति केपी शर्मा ओली नै पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि स्वाधीनतामा थप चुनौती थपिएको उनले बताए।

‘‘जनयुद्ध र जनआन्दोलनको बलमा हामीले नयाँ संविधान बनायौं। नयाँ संविधानमा थुप्रै कमिकमजोरी भए पनि यो मूलतः प्रगतिशील थियो। तर, साम्राज्यवादी बिस्तारवादी शक्तिहरूका लागि यो पनि सैह्य भएको छैन’’ गुरूङले भने, ‘‘साम्राज्यवादी शक्तिहरु इण्डोप्यासफिक रणनीतिअन्तर्गत नेपाललाई विदेशीकै सैन्य अखडामा गर्ने तयारीमा छन्। आवश्यक परे त्यसका विरुद्ध लड्न राष्ट्रिय मुक्ति सेना गठन गर्नुपर्ने हुन सक्छ।’’

‘‘नेपाललाई अखडा बनाएर चीनमाथि आक्रमण गर्ने र एकछत्र पूँजीवादी शिविर खडा गर्ने षड्यन्त्र भइरहेको छ’’ नेता गुरूङले भने, ‘‘बिआरआइअन्तर्गतका सबै परियोजना ओली सरकारले ठप्प राखेको छ। ओली सरकार विदेशी शक्ति केन्द्रको स्वार्थको गोटी भएको छ। यसका विरुद्ध फेरि पनि सम्भव भएसम्म सदन, नभए सडक र आवश्यक परे राष्ट्रिय मुक्तियुद्ध लड्नुपर्ने हुन सक्छ।’’

नेता गुरूङले फेरि संसद विघटन हुने र त्यसले देशमा भयावह परिस्थिति निम्तिन सक्ने चेतावनी दिए। उनले भने, ‘‘कार्तिकमा भारतीय गुप्तचरसँग भएको छलफलपछि नै ओली भारतीय बिस्तारवादी योजनाअनुरूप चलिरहेका छन्। देश फेरि रअको योजनामा संसद भंग गर्ने तयारी गरिएको छ। यसरी सदनको संघर्षलाई रोक्ने र संकटकाल लगाएर सडकको संघर्ष पनि रोक्ने षड्यन्त्र भइरहेको छ।’’

नेता गुरूङले ओली भारतीय बिस्तारवाद र सत्ताच्यूत दरबारिया शक्तिसामु घुडा टेकेको बताए। नेता गुरूङले भने, ‘‘ओलीले भारतको निर्देशनमा संविधान नै खारेज गर्ने गरी अघि बढेका छन्। फेरि संसद भंग भएपछि ओलीले निर्वाचन गर्दैछन्। बरु, हिन्दू राज्य, संघीयता र गणतन्त्रका बारेमा जनमत संग्रहको नाटक गर्न सक्छन्। यसले संविधान समाप्त पार्ने र नेपाल विदेशीको रणभूमि बन्न सक्ने खतरा छ।’’

उनले उदारीकरण र खुला बजारका नाममा नेपालको राष्ट्रिय उत्पादन धरासायी भएको बताए। ‘‘नेपाल कृषिप्रधान मुलूक भन्छौं। तर, कृषिमा आत्मनिर्भर छैनौं। हामी विदेशी शक्तिसामु झुकेर उनीहरुसँगै आश्रित भएसम्म समाजवादको आधार तयार बन्दैन। समाजवादको तयारीका निम्ति राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरता प्रमुख शर्त हुन्।’’

‘‘हामीले राष्ट्रिय सामन्तवाद त जित्यौं। तर, साम्राज्यवादसँगको टकरावमा पराजित हुन सकेका छैनौं। कम्युनिस्ट आन्दोलन विश्वव्यापी आन्दोलन हो। तर, अहिले हाम्रो अन्तर्राष्ट्रिय केन्द्र कमजोर छ। तसर्थ, नेपालका कम्युनिस्टहरुको पहलमा विश्व कम्युनिस्ट महासंघ बनाउन जरुरी छ।’’