ओली-नेपाल भेटवार्ता सकियाे,विवाद समाधानतर्फ अघि बढेको नेपालकाे दावी

लोकपाटी न्यूज

काठमाडौं।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ।

दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो। त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए। उनले भने ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टर्‍यो।’ उनकाअनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ।

२८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच फाटो बढ्दै गएको थियो। बिहीबार नेता नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए।