ओली र नेपालबीच भेटवार्ताको तयारी  

Kp Oli and Madhav Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट हुने भएको छ। भेटको समय र ठाउँ तय भइसकेको छैन। स्रोतका अनुसार आज दुई नेताबीच हुने वार्ताले अन्तिम निर्णय हुनेछ।

वरिष्ठ नेता नेपालले२०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान राख्दै आएका छन्। आफूहरूको अडानमा ओली सहमत नभएमा नेपाल पक्षीय सांसदहरूले आजै राजीनामा दिने समेत चेतावनी दिएका छन्।

यसअघि ओलीनिकट नेता विष्णु पौडेलले नेपाल निवास कोटेश्वरमा पुगेर उनीसँग छलफल गरेका थिए। राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि बहुमत जुटाउन दलहरुलाई दिएको भाका सकिन केही घण्टा मात्रै बाँकी रहेका बेला प्रधानमन्त्री ओलीले आफूसँग असन्तुष्ट नेपाल पक्षलाई फकाउने तीव्र प्रयास गरेका छन्।

त्यसक्रममा उनले बिहीबार बिहान स्थायी कमिटी बैठकमार्फत नेपालसहित चारजना नेतामाथि लगाएको ६ महिने निलम्बन फुकुवा गरेका छन्। एक स्थायी समिति सदस्यका अनुसार ओलीले बिहीबार नै नेपालपक्षलाई समेत समावेश गरेर स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन्।

साथै उनले नेपालसँग एक्लै वार्ताको पहल पनि गरिरहेका छन्। ती सदस्यअनुसार ओलीले बुधबार राति र बिहीबार बिहान नेपाललाई फोन गरेर फकाउने प्रयास गरेका थिए। राष्ट्रपति भण्डारीले दिएको भाका बिहीबार राति ९ बजे सकिँदैछ। नेता नेपाल फागुन २८ मा आफू पक्षीय पदाधिकारीलाई जिम्मेवारीबाट हटाउने ओलीको निर्णय फिर्ता लिनुपर्ने अडानमा छन्।

आफ्नो निर्णय उल्ट्याउन ओली अहिलेसम्म सहमत भएका छैनन्। तर स्रोतका अनुसार नेपालसँग विवाद उत्पन्न भएपछि पुनः गठन गरेका तल्ला कमिटीलाई मिलाउन कार्यादल गठन गर्न ओली सहमत छन्।