काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट कानून व्यवसायीसँग छलफल सुरु गरेका छन्। आफ्नै निवास कोटेश्वरमा कानून व्यवसायी टिकाराम भट्टराई, शम्भु थापा लगायतसँग छलफल गरिरहेका छन्।
पार्टीमा अन्तरसंघर्ष पेचिलो बनेका बेला नेपालले कानून व्यवसायीसँग छलफलमा छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको एमाले स्थायी समिति बैठकले नेता माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ताको निर्णय गरेको छ।
निलम्बन फुकुवा गर्ने निर्णय गरे लगत्तै नेपालले अबको राजनैतिक बाटोबारे कानून व्यवसायीसँग छलफल गरेका हुन्। आजै विष्णु पौडेलले नेता नेपाललाई भेटेर सहमतिमा आउन आग्रह गरेका छन्। नेता खनाल-नेपाल पक्षले भने ओली सहमतिमा नआएको आरोप लगाएको छ। सोहिकारण सो पक्ष राजीनामा पत्र तयार गरेर बसेको छ।
संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ। राजनीति निर्णायक घडीतिर अघि बढ्दा एमालेभित्रको विवाद नयाँ मोडमा पुगेको हो।
यसअघि एमालेको खनाल-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिँदा सरकार अल्पमतमा परेको छ। वैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्। खनाल र नेपाल पक्षका सांसद उक्त बैठकमा अनुपस्थित रहेका थिए। पछिल्लो समय यो पक्षका सांसद राजीनामा दिने भन्नेमा पुगेको बेला नेताहरूमाथिको कारबाही फुकुवा गरिएको हो।



लोकपाटी न्यूज

