काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्। बिहीबार बिहान साढे ११ बजेदेखि सभापति देउवासँग अध्यक्ष ठाकुर र नेता महतोको भेटवार्ता भइरहेको छ। स्रोतकाअनुसार अहिले भेटवार्ता जारी छ।
नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा विपक्षी दलहरू बहुमत पुर्याउन लागिपरेका छन्। तर, अहिलेसम्म निर्णायक भनिएको जसपा भने विभाजित छ। संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।
जसपामा वैकल्पिक सरकार गठनका विषयमा विवाद छ। जसपाको ठाकुर र महतो पक्षले नयाँ सरकार गठनमा आफूहरूको कुनै सहभागिता नरहने बताउँदै आएको छ। पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले भने गठबन्धनको संयुक्त सरकार बनाउन तयार छन्।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको छ। आजै नेकपा एमालेले माधव नेपालसहित चार नेतालाई गरेको कारबाही फुकुवा गरेको छ। एमालेमा असन्तुष्ट रहेका नेता नेपाल पक्षले नयाँ सरकार गठनमा सहयोग गर्ने काँग्रेसको अपेक्षा थियो।



लोकपाटी न्यूज

