पार्टीको विषयमा आकस्मिक निर्णय लिनुपरे ओलीलाई अधिकार

KP sharma Oli-22
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालले अध्यक्ष केपी शर्मा ओलीलाई विशेष अधिकार दिएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक बिषयलगायतका सन्दर्भमा आवश्यक काम कारबाहीको जिम्मा अध्यक्ष ओलीलाई दिईएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए।

‘पार्टीको आन्तरिक निर्णय र राष्ट्रिय परिस्थितिसमेतलाई ध्यानमा राखेर आवश्यक पर्ने सबै काम कारबाहीको निर्णय गर्नका लागि अध्यक्षलाई अधिकार दिने निर्णय गरियो,’ नेम्वाङले भने। उनका अनुसार राष्ट्रिय राजनीतिका विषयमा पार्टीले तत्काल बैठक बसेर निर्णय लिन अहिलेको अवस्थामा कठिन भएकाले अधिकार दिने निर्णय भएको बताए।

यसबाहेक बैठकले माधव नेपालसहितका चार नेतामाथिको निलम्बन फुकुवा गर्ने निर्णयसमेत गरेको छ। अब अध्यक्ष ओलीले नै नेपालसमूहसँग आवश्यक वार्ता गर्ने उनले बताए। ‘बिहानैदेखि अध्यक्ष र माधव कमरेडबीच फोनमा कुरा भइरहेको छ। अहिले भर्खरै पनि भयो। भेट्ने कुरा भएको छ, तर माधव कमरेडले २ घण्टापछि म खबर गर्छु भन्नुभएको छ,’ नेम्वाङले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै जाँदा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रणनीतिक रूपमा चार नेतामाथिको कारबाही फुकुवा गरेका छन्। पुनः सत्तामा फर्किने रणनीतिका साथ ओलीले पार्टीका चार नेतामाथिको कारबाही फुकुवा गराएका हुन्।

पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै चैत १६ गते नेपाल र रावलाई साथै १९ गते भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको थियो।