माधव नेपालसहित ४ नेताको कारबाही फुकुवा

madhav nepal team
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको निलम्बनको कारबाही फुकुवा गरेको छ। बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।

‘नेकपा (एमाले) स्थायी कमिटीको बैठकबाट उहाँहरूको निलम्बन फुकुवा गरिएको छ,’ सुवास नेम्बाङले भने। एमालेले चारै जनालाई पार्टी हित र विधान विपरीत काम गरेको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै जाँदा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रणनीतिक रूपमा चार नेतामाथिको कारबाही फुकुवा गरेका छन्। पुनः सत्तामा फर्किने रणनीतिका साथ ओलीले पार्टीका चार नेतामाथिको कारबाही फुकुवा गराएका हुन्।

नेपाल पक्षका सांसदहरूले राजीनामा दिने रणनीति अख्तियार गरेसँगै ओलीले उनीहरूको कारबाही रोकेर आफ्नो पक्षलाई बलियो बनाउन खोजेका हुन्। नेता नेम्बाङका अनुसार अध्यक्ष ओलीले नेपाल पक्षसँग आवश्यक वार्ता गर्ने तयारी गरेका छन्। ‘बिहानैदेखि अध्यक्ष र माधव कमरेडबीच फोनमा कुरा भइरहेको छ। अहिले भर्खरै पनि भयो। भेट्ने कुरा भएको छ, तर माधव कमरेडले २ घण्टापछि म खबर गर्छु भन्नुभएको छ,’ नेम्बाङले भने।

बैठकले नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधन र निर्णय लिन पार्टी अध्यक्ष ओलीलाई अधिकार दिने निर्णयसमेत गरेको छ।