अक्सिजन र बेड दिन नसक्दा हामी सबै लज्जित छौं : योगेश भट्टराई

yogesh-bhattarai
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको असन्तुष्ट पक्षका नेता योगेश भट्टराईले अस्वस्थ राजनीतिक खेलले व्यवस्था नै धरापमा पर्ने चिन्ता व्यक्त गरेका छन्। नेता भट्टराईले विगतदेखि कै सरकारहरूले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रूपमा लिएर पर्याप्त काम नगरेकाले आज विस्फोट हुन पुगेको टिप्पणी गरेका छन्।

हरेक दिन बिरामीहरूको अकाल मृत्यु र उनीहरूका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरू लाचार बनिरहेको उनको भनाई छ। बिहीबार सामाजिक सञ्जालमार्फत भट्टराईले बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नाले हामी सबै लज्जित भएको बताएका छन्।

कोभिड-१९का कारण देश अझ संकट तिर धकेलिएको भन्दै उनले भनेका छन्,‘विगतदेखि कै सरकारहरूले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रूपमा लिएर पर्याप्त काम नगरेका कारण आज यो विस्फोट बन्न पुगेको छ।’ उनले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई कोभिड नियन्त्रणका लागि भन्दै ४ बुँदे ध्यानाकर्षण गरेका छन्।

१. अहिले तुलनात्मक रूपमा चीनमा कोभिडको असर कम भएको देखिन्छ। तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चीनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरिनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चीन सरकारलाई अनुरोध गर्नु पर्दछ। र, भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ।

२. २०७२ को महाभूकम्प पछि जसरी राजनीतिक विमतिहरूलाई थाँती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बिचमा १६ बुँदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो, त्यसरी नै कोभिड विरुद्धको लडाईंमा फेरि एक पटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड-१९ लाई बनाउनु पर्दछ।

३. सम्पूर्ण जनशक्तिलाई कोभिड विरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रक्रियाबाट थप जनशक्ति भर्ना गर्ने।

४. आर्थिक अभाव हुन नदिने। अन्य शीर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने। कोभिड विरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरू सबैको सुविधा हाललाई स्थगित राख्ने।