काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सहमतिका लागि केही लचिलो बन्न माधव नेपाल पक्षलाई आग्रह गरेको छ। आज बिहान नेपाल निवास पुगेका ओली पक्षका नेता विष्णु पौडेलले सहमतिमा आउन नेपाल पक्षलाई आग्रह गरेका हुन्।
नयाँ सरकार गठनको सहजताका लागि नेपाल-खनाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ओलीनिकट नेताहरू छलफलका लागि नेपाल निवास कोटेश्वर पुगेका थिए। नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत बहिष्कार गरेका थिए।
२८ सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएकाले राजीनामा दिएर नयाँ सरकार गठनमा काँग्रेस र माओवादीलाई सहयोग गर्ने आंकलन गरिएको छ। सो समूहका नेता भीम रावलले पनि आफूहरूको राजीनामा आवश्यक भएको बुधवार बताइसकेका छन्।
रावलले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउन पनि आफूहरूले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने उनको भनाई छ।
अहिले संसद्मा २७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि १३६ मत आवश्यक पर्छ। तर, नेपाल पक्षका सांसदले राजीनामा दिएमा बहुमत पुर्याउन काँग्रेस र माओवादीलाई सहज हुनेछ।



लोकपाटी न्यूज

