देउवालाई प्रधानमन्त्री बनाउन सहयोग नगर्ने डा. भट्टराईको संकेत

Baburam-Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई असहमत देखिएका छन्। देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत भइरहेका बेला सहयोगी मानिएका डा. भट्टराईले वर्तमान तथा पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

यद्यपि जसपाका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईले काँग्रेस-माओवादी गठबन्धनको बहुमतको संयुक्त सरकार बनाउन पर्नेमा जोड दिइरहेका छन्। उनीहरूले ओली नेतृत्वको वर्तमान सरकारलाई बिदा गरेर वैकल्पिक सरकार गठनमा खुलेर लागेका छन्। तर पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले अहिले वैकल्पिक सरकारमा सहभागी हुन नहुने अडान लएको छ। यस विषयमा ठाकुरले राष्ट्रपतिलाई पनि जानकारी गराएका छन्।

सत्ता समीकरणको विवादले जसपा गम्भीर मोडमा पुगेको छ। यस्तो अवस्थामा आफ्नो पार्टीलाई एकताबद्ध गरेर राष्ट्रिय समस्याको हल खोज्न डा. भट्टराईले फरक विकल्पको बारेमा सोच्न थालिएको बताइएको छ। अहिलेको समस्या समाधानका लागि वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाए राष्ट्रिय सहमतिको वातावरण बन्ने विश्वास उनको छ।

सोहीअनुरूप डा. भट्टराईले नयाँ सरकार गठन र देशको संकट हल गर्न चार प्रस्ताव अगाडि सारेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए। त्यस्तो सरकारले मुलुकका वर्तमान समस्या हल गरी एक वर्षभित्र चुनाव गराउनुपर्ने पनि उनको भनाइ छ।

उनले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं: १. धारा ७६ (२)बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, २. दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति, ३. साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण, TRC/मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ.)लागू ४. एक वर्षभित्र चुनाव!’

गत सोमबार संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याई नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समय भोलि वैशाख ३० गते सकिँदैछ।