चितवन। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड-१९ नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन्। केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड-१९ विशेष बिजनेश म्यागाजिनको र्चुअल माध्यमबाट विमोचन गर्दै प्रचण्डले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए।
उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाए। उनले भने, ‘अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ।’ सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उनको आरोप थियो।
चितवनबाट प्रकाशित भएको यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उनको भनाइ थियो। उनले भने, ‘चितवन आधार क्षेत्र बनाएर देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गरी कोभिडलाई जोडेर तयार पार्नुभएको छ। यो प्रयास प्रशंसनीय र सह्रानीय छ।’
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताइन्। कोभिड संक्रमित बिरामीको उपचारमा कुनै कसर नराख्ने भन्दै उनले कोभिड न्यूनीकरणका लागि सबै क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। -रासस



लोकपाटी न्यूज

