महन्थले गुहारे राष्ट्रपति, देउवाको नेतृत्वमा बन्ला त नयाँ सरकार ?

Prachanda_Deuba_Thakur
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान भएसँगै विपक्षी दलहरूको दौडधुप सुरु भएको छ। बहुमतको संयुक्त सरकार बनाउन विपक्षी दलका शीर्ष नेताहरू लागिपरेका छन्। तर जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादका कारण विपक्षी दललाई बहुमत पुर्‍याउन कठिन देखिएको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन आफूहरूको सहमति नहुने जनाएको छ। सभापति देउवाले आज दिउँसो सर्वदलीय बैठक राखेर यसमा छलफल गर्ने भनिरहेको अवस्थामा जसपा अध्यक्ष ठाकुरको यस्तो धारणा आएको हो। ठाकुरले यही विषय राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि जानकारी गराएका छन्।

ठाकुरले सोमबार राति नै विज्ञप्ति जारी गरेर आफूहरू देउवा नेतृत्वको सरकार बनाउने कार्यमा सहभागी नहुने बताएका छन्। तर, सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराई भने देउवा नेतृत्वको सरकार बनाउन लागि परेका छन्। यादव आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभापति देउवासँग छलफल गर्न बुढानिलकण्ड पुगेका थिए।

देउवाले चाहेमा महन्थलाई मनाउन सक्ने धारणा यादव पक्षहरूको पनि छ। महन्थ नआए पनि जसपाबाट देउवालाई बहुमत पुग्‍ने गरी सांसदले भोट दिने वा दल नै फुटाएर भए पनि विकल्पको सरकारमा जाने निर्णय भएको एक नेताले जानकारी दिए। त्यसो हुन नसकेको खण्डमा एमालेका असन्तुष्ट पक्षबाट प्रत्यक्षमा राजीनामा गराएर भए पनि विकल्पमा जाने निर्णय हुनसक्ने काँग्रेस नेताहरूले बताएका छन्। सबै विकल्पबारेमा छलफल भएको छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विश्वासको मत गुमाएपछि त्यसबारेमा छलफलमा जुटेका हुन। जसपाको ठाकुर समूह तटस्थ रहेका थिए भने यादव समूहले विपक्षमा मतदान गरेका थिए। ठाकुरले नयाँ सरकार गठनमा सहभागी हुनु मधेस आन्दोलनको मर्म र भावनाविरुद्ध भएको बताउँदै अमिल्दो कारण प्रस्तुत गरेको बुझाई उनकै दलभित्र छ।

‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपाको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भएर सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो,’ अध्यक्ष ठाकुरले भनेका छन्, ‘मधेस आन्दोलनको मर्म र भावनाको प्रतिकुल हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चित प्राय छ।’

ठाकुर समूहले पार्टीको निर्देशन विपरीतका कार्य गरेको भन्दै अर्का अध्यक्ष यादवमाथि कारबाहीको तयारी पनि गरेका छन्। तर यादवले त्यस्तो कुनै कारबाही हुन नसक्ने र अल्पमतमा परेकाहरूलाई मिलाउने प्रयास गरिने तर नमिले पार्टीको बैठकबाट आधिकारिक रूपमा कारबाही हुने स्पष्ट पारिसकेका छन्।