पोखरा। राष्ट्रिय जनमोर्चाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न ह्वीप जारी गरेको छ। पार्टीकी सचेतक पियारी थापाले आज ह्विप जारी गरेकी हुन्। उनले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनाउन दाबी पत्रमा हस्ताक्षर गर्न ह्वीप जारी गरेकी हुन्।
गण्डकीमा राष्ट्रिय जनमोर्चाका तीन सांसद छन्। जो निर्णायक अवस्थामा छन्। सचेतक थापाले गठबन्धनबाट प्रस्तावित मुख्यमन्त्री पोखरेलको नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष पेस गर्ने दाबी पत्रमा अनिवार्य हस्ताक्षर गर्न खिमविक्रम शाही र कृष्ण थापालाई पत्र पठाएकी हुन्।
आज ११ बजे जनमोर्चा संसदीय दलको बैठक बसेको थियो। सरकार गठनको दाबी पेस गर्न गठबन्धनले जनमोर्चाको निर्णय कुरेको थियो। जनमोर्चाका थापा र शाहीले नयाँ सरकार गठनमा असहमति राख्दै आएका छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुखले ३ दिन भित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि भोलिसम्म नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी थिइन्।
काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीको मोर्चाले जनमोर्चाबिना बहुमत नपुग्ने भएकाले दाबी पत्र लिएर जान सकेका छैनन्। जनमोर्चामा अहिले सांसदहरूको दुई धार देखिन्छ। समानुपातिक सांसद पियारी थापा काँग्रेस नेतृत्वको मोर्चामा लचक देखिन्छिन् भने प्रत्यक्ष निर्वाचित कृष्ण थापा र खिमविक्रम शाही पृथ्वीसुब्बा प्रति नै नरम देखिन्छन्।




लोकपाटी न्यूज

