देउवाको प्रस्तावलाई प्रचण्डको समर्थन

Deuba_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा देउवाले संविधानको धारा ७६ (२) को अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने प्रस्ताव गरेका थिए।

प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभामा राखेको प्रस्ताव पारित नहुने भएकाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउनु पर्ने देउवाको भनाई थियो।

‘प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष राखेको प्रस्ताव पारित नहुने भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन समेत आव्हान गर्दछु,’ देउवाले भने।

प्रचण्डले देउवाको उक्त प्रस्तावमा समर्थन रहेको बताए। संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।