काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा आफूहरू तटस्थ रहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा ठाकुरले आफूहरु प्रधानमन्त्रीको प्रस्ताव पक्ष र विपक्ष दुवैमा नरहेको बताएका हुन्।
आफूहरू लोकतन्त्रपछि पनि राजनीतिक रुपमा पीडित रहेकाले पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने उनले बताए। ‘हामी पक्षमा पनि छैनौं। विपक्षमा पनि छैनौं। तटस्थमा बस्न चाहन्छौं किनभने हामी विभेदबाट पीडित छौं। अपमानबाट पीडित छौं। जातीय आधारमा क्षेत्रीय आधारमा,’ उनले भने।
मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरू जेलमा रहेकोले अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो। ‘हाम्रो साथीहरू जेलमा छन्। सांसद जेलमा छन्। रेशम चौधरीलाई यहाँ हेर्न चाहन्छौं, तर जेलमा हुनुहुन्छ। प्रदेशका मन्त्रीहरू पनि तारेखमा छन्। धेरै मेयरहरू तारेखमा बसेका छन्। सयौं कार्यकर्ता मुद्दा अझै पनि खेपिरहेका छन्। किन ? यो संविधानले गर्दा। अहिलेको जुन अवस्था हेर्छौं त्यो संविधानको त्रुटिले गर्दा नै हो,’ उनले भने।
उनले संविधान संशोधन गर्न माग राखेका छन्। संविधानका प्रावधान सच्याइए आफूहरूले पनि अपनत्व महसुस गर्ने उनको भनाइ थियो। तर संविधान संशोधनको आफ्नो माग पूरा नभएको ठाकुरले बताए। ‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव त ल्याउन पाइन्न। अल्पमतमा परे भने। बजेट बनाउन सकिन्छ त ? गम्भीर त्रुटिहरु संविधानमा छ,’ ठाकुरले संविधान संशोधनको औचित्यबारे भने।



लोकपाटी न्यूज

