काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलका क्रममा प्रचण्डले आफैंले विघटन गरेको प्रतिनिधिसभामा उभिएर विश्वासको मत माग्ने नैतिक अधिकारी ओलीसँग नभएको बताए।
‘आफैंले विघटन गरेको संसद, यिनै माननीय सदस्यसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’ प्रचण्डले प्रश्न गरे। प्रधानमन्त्रीले विश्वासको मत माग्नुमा पनि कुनै षड्यन्त्र छ कि भन्ने आफूलाई शंका लागेको प्रचण्डको भनाइ छ।
उनले लोकतान्त्रिक संस्था, पद्धति, परम्परा र विधिलाई छलेर अरु नै केही गर्न खोजेको हो कि भन्ने आशंका उब्जिएको बताए। ओलीले संसदलाई सरकारले अपमान र उपेक्षा गरेको उनले प्रतिक्रिया दिए। प्रचण्डले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोप लगाए।
‘यो सदनले विश्वासको मत दिँदैन।’उनले भने,‘लोकतान्त्रिक अधिकार भित्रै प्रधानमन्त्री जीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर सरकार गठन भए यता गरेका कार्य हेर्दा विश्वासको मत प्राप्त गर्ने स्थिति छैन।’
उनले धेरै प्रतिकुलताकाबीच वाम गठबन्धन भएको, कम्युनिष्ट पार्टीको एकता भएको दाबी गरे। उनले भने, ‘गठबन्धनको प्रस्ताव लिएर जाने म नै हो। उहाँलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने पनि म मै हो र सरकरका गतिविधिले संविधानलाई पनि कोरोना लागे जस्तो भयो। आइसियुमा लागेर जस्तो स्थिति आएको छ।’
आफूले डेढ वर्ष अगाडिबाट नै सर्वदलीय संयन्त्र बनाउन आग्रह गरेको बताउँदै प्रचण्डले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन आह्वान गरे। ‘आज प्रधानमन्त्रीले राखेको विस्वासको मतको विपक्षमा प्रधानमन्त्री सबैले पक्षमा हालौं भन्नुभयो’ उनले अन्तिममा भने, ‘म चाहिँ प्रधानमन्त्रीजीबाहेक सबैले प्रधानमन्त्रीको विपक्षमा भोट हालौं नयाँ इतिहास बन्छ।’



लोकपाटी न्यूज

