राजीनामाबाट किन पछि हट्यो नेपाल समूह ?

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूहले सांसद पदबाट राजीनामा नदिने भएको छ। यो समूहले राजीनामा नदिने निर्णय लिँदै आज संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनुपस्थित हुने भएको हो।

माधव नेपाल पक्षीय नेता भीमबहादुर रावलले सांसदबाट तत्काल राजीनामा नदिने निर्णय भएको बताए। उनले आज डाकिएको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा अनुपस्थित हुने निर्णय भएको पनि बताए। रावलले एमाले दलले आइतबार जारी गरेको ह्विप पनि आफूहरुलाई नलाग्ने बताए।

यसअघि नेता माधवकुमार नेपालले पार्टीलाई विधिसम्मत तरिकाले चलाउने प्रतिबद्धता माग्दै पत्राचार गरेको भएपनि माग पूरा नभएकाले विश्वासको मत नदिने निर्णयमा पुगिएको नेता रावलले बताए।

‘उहाँले उल्टै दम्भ, अहंकार, गैरजिम्मेवारी शब्दको वक्तव्य जारी गर्नुभयो, पार्टीलाई विभाजित गर्नेतर्फ उद्यत हुनुभएको देखिएकाले विश्वासको मत दिन नसकिने । हामी पछि हटेका छैनौं,’ उनले भने ।

पार्टीले ह्वीप जारी गरेको सन्दर्भमा नेता रावलले भने, ‘महाधिवेशनबाट निर्वाचित कमिटीलाई उहाँले नै विघटन गरेको, निर्वाचित वैध अध्यक्ष नरहेको मान्छेले निर्देशन जारी गर्न पाइँदैन। आफूलाई वैध अध्यक्ष मान्ने हो भने महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक राख्नुपर्‍यो  अहिले उहाँको निर्देशन अवैध छ, त्यसलाई मान्नु आवश्यक छैन ।’

यसैबिच, नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरु अलग्गै छलफलमा जुटेका छन्। बिहान सिंहदबारमा बसेको सांसदहरुको छलफलबाट संसद बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरु फेरि अलग्गै छलफलमा जुटेका हुन्।

सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेता अहिले अलग्गै छलफल गरिरहेका छन्। यता खनाल-नेपाल पक्षले आज हुन लागेको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर पुगेका सांसदहरूले राजीनामाको सट्टा अनुपस्थित हुने निर्णय गरेका हुन्।

नेता भीम रावलले प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत लिने सोमबारको संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेको जानकारी दिए। उनले प्रधानमन्त्रीमा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर तुल्याउनु भएको बताए। नेपाल समूहको उक्त बैठक सकिएपछि दोस्रो पुस्ताका नेताहरु अलग्गै छलफलमा जुटेका हुन्।