ओलीलाई विश्वासको मत नदिने नेपाल पक्षको निर्णय

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल पक्षका सांसदहरूले आज हुन लागेको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्। राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर पुगेका सांसदहरूले राजीनामाको सट्टा अनुपस्थित हुने निर्णय गरेका छन्।

नेता भीम रावलले प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत लिने सोमबारको संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेको जानकारी दिए। उनले प्रधानमन्त्रीमा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर तुल्याउनु भएको बताए।

आज सिंहदरबारमा माधवकुमार नेपाल समूहको बैठकपछि नेता रावलले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ।’ प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्। तर, त्यसअघि बसेको नेपाल पक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो। सांसदहरुको बैठकपछि सिंहदरबारमा नै बसेको समूहको स्थायी कमिटीले अनुपस्थित रहने निर्णय गरेको हो।

ओलीको कुनै पनि निर्देशन मान्य नभएको बताउँदै नेता रावलले ओलीलाई पार्टीको वैधानिक अध्यक्ष नभएको दाबी गरे। ‘ओलीको कुनै निर्देशन हामीलाई मान्य छैन। उहाँको कुरा मान्नुपर्ने हो भने वैध अध्यक्ष हुनुपर्छ। ओलीको ह्वीप मान्य छैन,’ उनले भने।

नेपालको संविधान मिचेर ओलीले प्रतिनिधिसभाको विघटन गरेको सन्दर्भ उठाउँदै विश्वासको मत दिने दिने एक दिन अघि मात्र अध्यादेश जारी, संवैधानिक परिषद्को बैठक बोलाएर असंवैधानिक निर्णय गरेको आरोप लगाए।

‘केपी ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउने। राजनीतिक नेतृत्वलाई ध्वस्त गर्ने। देश र राज्यलाई कमजोर तुल्याउनुहुने हुँदा यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौ।’