काठमाडौं। लामो समयको राजनीतिक रस्साकस्सीपछि अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैँछन्। आज दिउँसो १ बजे प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत ओलीले आफ्नो सरकारका लागि विश्वासको मत लिन लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।
आज बैठकको प्रारम्भमै सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल चयन गरिनेछ।
बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्ताब टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नेछन्। त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन्। सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन्।
प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ। मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहनेछ। विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था हुनेछ।
तर कुन-कुन पार्टी मिलेर विकल्पिक सरकार बन्छ भन्नेमा अझै अन्योल छ। नेपालको संविधानको धारा ७६ को उपधारा १ मा बहुमत प्राप्त दलको नेतृत्वमा सरकार गठन हुने व्यवस्था छ। नेकपा एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको अध्यक्षको रुपमा ओली प्रधानमन्त्री बनेका थिए। तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएपछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएका थिए।
अहिले माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेकाले ओली अल्पमतमा छन्। कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ। धारा ७६ को उपधारा २ मा, लेखिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।’
उपधारा २ बमोजिम नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी र जसपा मिल्नुपर्छ। ओली र माधव नेपाल पक्षबीच कुरा मिल्यो भने पनि जसपाको साथ लिएर एमालेले सरकार गठन गर्न सक्छ। तर जसपा तटस्थ बसेमा त्यस्तो सम्भावना पनि रहँदैन।
उपधारा दुई बमोजिम पनि सरकार गठन हुन नसकेमा उपधारा ३ बमोजिम अघि बढ्नुपर्ने हुन्छ। सो उपधारामा राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। धारा ७६ को उपधारा ३ सम्म पुग्नुपर्ने अवस्था आएमा र माधव-झलनाथ पक्षका सांसदहरुले राजीनामा नदिएमा १२१ सांसदहरु भएको एमालेले नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न पाउने छ। एमाले संसदीय दलको नेता केपी शर्मा ओली भएकाले पुनः उनी नै प्रधानमन्त्री बन्न सक्ने छन्।
उपधारा ३ बमोजिम बनेका प्रधानमन्त्रीले ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ। सो बमोजिम विश्वासको मत प्राप्त गर्न नसके अन्य कुनै पनि नेताले विश्वासको मत पाउने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न पाउने छन्। संविधानको धारा ७६ को उपधारा ५ मा यो व्यवस्था छ। उपधारा ५ को व्यवस्था बमोजिम बनेको प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
यदि विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र निर्वाचन गर्ने गरी प्रतिनिधिसभा विघटन गर्नसक्ने संविधानमा व्यवस्था छ।



लोकपाटी न्यूज

