काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदैछन्। कोरोना भाइरसको संक्रमण पुष्टि भएका सांसद भने सोमबारको बैठकमा प्रवेश गर्न पाउने छैनन्। उनीहरु मतदान प्रक्रियामा भने सहभागी हुन पाउने छन्। आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसद पनि मतदानमा सहभागी हुन पाउने निर्णय गरेको हो।
संसद सचिवालय स्रोतका अनुसार उनीहरुलाई संसद भवन परिसरमा टेन्टमा राखिने छ। मतदान प्रक्रिया सुरु भएपछि संसद भवनको ल्होत्से वा शंकर हलमा उनीहरुका लागि मतदानको व्यवस्था मिलाइने छ। ‘कोरोना संक्रमित सांसद सोमबारको संसद बैठकमा छिर्न पाउँदैनन्। उनीहरुलाई संसद भवन बाहिरै टेन्टमा राखिने छ। मतदान प्रक्रिया सुरु भएपछि ल्होत्से वा शंकर हलमा मतदानको व्यवस्था मिलाइने छ र त्यहीँबाट सोझै घर जाने व्यवस्था गरिनेछ,’ संसद सचिवालय स्रोतले भन्यो।
संसद बैठकअघि वैशाख २२, २३ र २४ गते सांसद तथा संसदका कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरिएकामध्ये करिब १२ प्रतशतमा संक्रमण पुष्टि भएको थियो। जसमध्ये दुई दर्जनभन्दा बढी सांसदलाई कोरोना संक्रमण भएको छ। प्रधानमन्त्रीले सोमबार संसदमा ‘विश्वासको मत’ लिने कार्यक्रम छ।



लोकपाटी न्यूज

