नेपाल पक्षका सांसदको बैठक सकियो, के भयो निर्णय ?

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल पक्षीय सांसदहरुको बैठक सकिएको छ। सांसदबाट दिएको राजीनामापत्र लिएर नेता नेपाललाई बुझाउन गएका सांसदहरुलाई नेता नेपालले सिंहदरबारमा व्रिफिङ गरेका हुन्।

त्यसअघि नेता नेपालसहितको सामूहिक राजीनामा रोक्न प्रधनमन्त्री केपी शर्मा ओली पक्षका सुवास नेम्वाङ र विष्णु पौडेल सिंहदरबारमा पुगेका थिए। नेता नेपालसँग पौडेल र नेम्वाङको पौने घण्टा छलफल भएको थियो।

तर, सो छलफलमा नेता नेपालले आफ्नो अडान कायमै रहेको जनाउ दिएका थिए। प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन्। त्यसअघि नै नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरेपछि ओली संकटमा छन्।

ओलीले आइतबार दिउँसो एक विज्ञप्ती जारी गर्दै सामूहिक राजीनामा नगर्न सचेत गराएका छन्। उता पार्टीकातर्फबाट संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले ह्वीप जारी गरिसकेका छन्।

नेपाल पक्षको स्थायी कमिटीको निष्कर्ष

काठमाडौं। नेकपा एमालेका असन्तुष्ट नेता माधव नेपाल पक्षको स्थायी कमिटीको बैठकले विपक्षी गठबन्धनको सरकार बन्ने अवस्थामा मात्रै सांसद पदबाट राजीनामा दिने निष्कर्ष निकालेको छ। आइतबार जुममार्फत बसेको स्थायी कमिटीको बैठकले जसपा तटस्थ बस्ने भएपछि प्रधानमन्त्री केपी ओलीका पक्षमा बहुमत नपुग्ने निश्चित भएकाले तत्काल राजीनामा दिनुको अर्थ नहुने निष्कर्ष निकालेको हो।

एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार परिस्थितिको मूल्यांकन गरेर परिणाम आउने गरी राजीनामा दिने निर्णय भएको छ। ती सदस्यले भने, ‘अध्यक्ष ओलीका कारण पार्टीमा बढ्दो विग्रह र बिग्रिँदो देशको परिस्थितिका सामु सांसद पद गौरवको पद होइन भन्नेमा सबै सहमत भएका छौँ। तर राजीनामा चाहिँ परिणाम आउने गरी मात्रै दिऔँ भन्ने निष्कर्ष निकालेका छौँ।’

नेपाल पक्षमा नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरू परिणाम निस्कने गरी मात्रै राजीनामा दिने पक्षमा उभिएका थिए। अहिले नै विपक्षी गठबन्धनको सरकार बन्ने अवस्था नभएकाले सांसद पदबाट राजीनामा दिनुको अर्थ नभएको उनीहरूको भनाइ थियो। त्यसमा नेता नेपाल पनि सहमत भएपछि आइतबार राजीनामा नगर्ने सहमति जुटेको हो।

नेपाल पक्षमा नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डे अस्वस्थ छन्। खनाल चाहिँ कोरोना संक्रमणका कारण नर्भिक अस्पतालमा उपचारत छन्। तर, पाण्डे र न्यौपाने भने घरमै बसिरहेका छन्।

हिजो नेपालनिकट सांसदहरूबीच झण्डै ५ घण्टा लामो छलफल भएको थियो। त्यस छलफलले सामूहिक राजीनामा दिन तयार हुने निर्णय लिएको थियो। तर, त्यसका लागि पार्टीको स्थायी कमिटीले निर्णय लिने गरी हिजो सांसदहरूको छलफलमा टुंगो लागेको थियो। त्यसैले आज नेपालनिकट सांसदहरूले राजीनामा दिने चर्चा थियो। तर, जसपाले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने निर्णय लिएपछि नेपाल पक्षले राजीनामा नदिएको हो।

माधव नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चा चलेपछि अध्यक्ष ओलीले नेता नेपालसँग संवाद गर्न विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका थिए। त्यसमा नेता नेपालले २ जेठ ०७५ मा पार्टीका कमिटी फर्काउनुपर्ने पुरानै अडान राखेका थिए। र, राजीनामा नदिन पौडेल र नेम्वाङको आग्रह थियो।

नेपाल निकट नेता युवराज ज्ञवालीले भने आफूहरूले २ जेठ ०७५ को बटमलाइनमा नछोड्ने दाबी गरे। ज्ञवालीले भने, ‘त्यसमा अध्यक्ष ओली कतिसम्म लचिजो भएर आउँछन् त्यसमा एमालेको विग्रह रोकिने वा नरोकिने भन्ने भर पर्नेछ।’