प्रधानमन्त्री ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना छैन् : प्रमूख सचेतक भट्टराई

Bishal_Bhattarai pic
लोकपाटी न्यूज

काठमाण्डाै।  नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताएका छन्।

आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले पार्टीभित्र ह्विप लाग्ने र सांसदहरूले पार्टीको ह्विप मान्नुपर्ने सङ्केत गरेका हुन्। उनले अन्य पार्टीलाई आफूहरूको ह्विप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरूले ह्विप उल्लङ्घन गर्न नमिल्ने सङ्केत गरेका हुन्।

उनले भने, ‘२०७४ सालको चुनावमा नेकपा एमालेले जम्मा एक सय २१ सिट जितेको हो। त्यो एक सय २१ सिट सङ्ख्या यस पटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ। बाँकी राजनीतिक दलसँग हामीले सहयोग माग्ने मात्रै हो। अरू दललाई हाम्रो ह्विप लाग्दैन, निर्देशन लाग्दैन। प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ। यदि विश्वासको मत प्राप्त भएन भने विपक्षीमा बसेर हामी देश र नागरिककाे सेवा गर्न तत्पर छौँ।’

उनले एमालेकै नेपाल–खनाल समूहले प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेस गर्नु अघि नै राजीनामा दिने कुरामा आफूलाई विश्वास नभएको तर्क गरे।

उनले भने, ‘मलाई पटक्कै विश्वास छैन। किनभने चुनावमा पाँच वर्षका लागि मत मागेर आउनुभयो। विकास र समृद्धिको कुरा गर्नुभयो। यसबेला आएर नागरिकका बीचमा राजीनामा दिएर के भन्दै जाने हो। त्यसकारणले मलाई राजीनामा आउँछ जस्तो लागेको छैन।’