देउवालाई महन्थले भने : उपेन्द्र यादवले गरेको निर्णय व्यक्तिगत हो

deuwa-mahant
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा छलफल गरेका छन्।

देउवा भेट्न विहान बुढानिलकण्ठ पुगेका ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमा जसपाको पोजिसनबारे जानकारी गराएका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई बोलाएर नयाँ सत्तासमीकरणबारे छलफल गरेका थिए।

देउवाले ठाकुर र महतोलाई आइतबार बिहान बूढानीलकण्ठस्थित निवासमै बोलाएर छलफल गरेका हुन्। जसपानिकट स्रोतका अनुसार देउवाले ठाकुर र महतोलाई केपी शर्मा ओलीको सरकार ढालेर आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका छन्।

यस्तै, जसपा अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवालाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले गरेको निर्णय उनको व्यक्तिगत भएको भन्दै उनका कुराका पछि नलाग्न सुझाव दिएको स्रोतले जनाएको छ। जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय नगरेको पनि उनले स्पष्ट पारेका छन्।

उनले तत्काल वैकल्पिक सरकारको सम्भावना नरहेकाले निर्वाचनमा जानु उपर्युक्त हुने देउवालाई सुझाव दिएका थिए।
अध्यक्ष ठाकुरले सबै दलहरु मिलेर निर्वाचनको माहोल बनाउनुपर्ने बताएका छन्।