काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमणको महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ। विपत्तिमा मुलुक पर्दा मुलुकवासीहरूको सहयोगार्थ महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अघि सारेको हो। अभियानअन्तर्गत पहिलो कार्यक्रमको रूपमा हेल्लो डाक्टरको शुभारम्भ भएको छ। एफएनसीसीआई अपरेसन कोभिड रिलिफ अभियानअन्तर्गत थप अन्य कार्यक्रमहरूसमेत ल्याउने तयारीमा महासंघ छ।
हेल्लो डाक्टर कार्यक्रममा भाइवरको सहकार्य छ। डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन्। हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने कार्य आइतबारबाट सुरु हुनेछ। कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरूले हेल्लो डाक्टरमार्फत भरपुर सहयोग लिन सक्नेछन्। हेल्लो डाक्टर, भाइवरमार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिइन्छ। सुरुमा बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका पाँच जना डाक्टरले परामर्श दिनेछन्।
नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइवर नम्बरमा म्यासेज गर्नुपर्नेछ। म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइनेछ। तत्पश्चात डाक्टरहरूले भिडियो कलमार्फत बिरामीसँग संवाद गरी स्वास्थ्य परामर्श दिनेछन्। म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ। यो सेवा निःशुल्क हुने छ। देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्नेछन्।
रोग संक्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपत्कालीन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाइदिने उद्देश्य अनुरूप यो कार्यक्रमको थालनी गरिएको महासंघले जनाएको छ। यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ। हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हु“दा कोभिड संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने दाबी महासंघका अध्यक्ष शेखर गोल्छाको छ। यो स्वास्थ्य अभियानबाट बढीभन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गरे। आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत अध्यक्ष गोल्छाले गरे।



लोकपाटी न्यूज
