काठमाडाैँ। संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले भने बैठक बहिस्कार गरेका छन्। कांग्रेस सभापति देउवाले सरकारले संविधान विरोधी काम गरेको भन्दै बैठक अस्वीकार गरेका हुन्। कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ। सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै बैठक बस्न सक्ने गरी गत वैशाख २१ मा सरकारले अध्यादेश ल्याएको थियो।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन संवैधानिक परिषद बैठक राखेका हुन्। ओलीले प्रतिनिधि सभाबाट भोलि सोमबार विश्वासको मत लिन लागेका छन्। संविधानअनुसार परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहन्छन्।
उपसभामुख खाली रहेकाले हाल परिषदमा ५ जनामात्रै छन्। सरकारले हालै जारी गरेको संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेशमा ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ’ भनिएको छ। परिषदमा हाल बहाल रहेका सदस्यहरुको संख्या ४ रहेकोमा दुईजनाको मात्र उपस्थितिमा निर्णय हुन लागेको हो।
त्यसो त गत मंसिर ३० गते पनि प्रधानमन्त्री ओलीले दुईजना सदस्यहरुबाटै निर्णय गराएर संवैधानिक निकायका ३४ पदमा नियुक्तिको सिफारिस गराएका थिए। संसद विघटन भएकाले संसदीय सुनुवाइ बिनै ती नियुक्तिहरु सदर भएका थिए। सो नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले अदालतमा दायर गरेको रिट अहिलेसम्म विचाराधीन छ। प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने अघिल्लो दिन बसेको परिषदको बैठकले रिक्त रहेका सबै संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गर्ने स्रोतले बतायो। यसबीच, नेपाली काँग्रेस माओवादी लगायतका दलले बहुमत गुमाइसकेका प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक राख्नु बदनियतपूर्ण भएको भन्दै विरोध जनाएका छन्।



लोकपाटी न्यूज

