प्रचण्ड र देउवाबीचकाे समसामयिक राजनीतिक घटना क्रमका विषयमा छलफल

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडाैँ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। शुक्रबार साँझ देउवालाई माओवादी अध्यक्ष प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका हुन। दुवै नेताबीच समसामयिक राजनीतिक घटना क्रमका विषयमा छलफल भएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन्। त्यसका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ।प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन नदिने विषयमा देउवा र प्रचण्डबीच छलफल भएको जनाएको छ। दुवै पार्टीले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।

दुवै नेताबीच देउवाको नेतृत्वमा सरकार गठनका विषयमा पनि छलफल भएको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। माओवादीले पनि देउवालाई सघाउने तय गरेको छ। यसअघि बिहीबार नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले पनि देउवालाई भेटेका थिए। त्यस्तै, बुधबार प्रधानमन्त्री ओली पनि देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्