काठमाडौं। फुट नजिक पुगेको समाजवादी पार्टी (जसपा) अन्ततः विभाजन हुनबाट जोगिएको जसपाका नेताहरुले दावी गरेका छन्। जसपाका नेता डम्बर खतिवडाले अब जसपाले केपी ओलीलाई विश्वासको मत नदिने र पार्टी एक ढिक्का रहने बताएका छन्।
खतिवडाले टी्वटरमा लेखेका छन्,‘जसपाले एकमतले ओली प्रस्तावको विपक्षमा मत हाल्ने, पार्टी–एकता जोगिने, यसबीचका सबै अफवाह गलत सावित हुने, जसपा फोड्ने सत्तारुढ कमरेडहरूको षडयन्त्र फेरि एकपटक असफल । हिस्स बुढी हरिया दाँत हुने लगभग निश्चित ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयले जसपा दुई कित्तामा बाँडिएको थियो। पार्टीका वरिष्ठ नेताहरुले ओलीलाई समर्थन नगर्ने निष्कर्षमा पुगेपछि जसपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको हो। महन्थ ठाकुरलाई साथ दिँदै आएका राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवसमेत केपी ओलीलाई समर्थन नगर्ने भन्दै ठाकुरको हस्ताक्षर अभियानबाट अलग्गिएका छन्। अब महन्थ ठाकुरसँग ४/५ जना मात्रै सांसदहरु रहेको जसपाका नेताहरु बताउँछन्।
ठाकुरले मात्रै केपी ओलीलाई सघाएर ओलीको बहुमत नपुग्ने भएको छ। यसअघि अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले संवाद अगाडि बढाएका थिए। उनीहरुलाई आफ्नो पक्षमा पार्नकै लागि सरकारले १ सयभन्दा बढी जसपा कार्यकर्ताको मुद्दासमेत फिर्ता लिएको थियो। तर, रेसम चौधरीलाई भने सरकारले रिहा गरेको छैन।




लोकपाटी न्यूज

