काठमाडौं। एनसेलले कोरोना महामारीको दोस्रो लहरले ल्याएको कठिन परिस्थितीलाई मध्यनजर गर्दै विभिन्न प्याक तथा बोनस सार्वजनिक गरेको छ। स्वास्थ्य संकटको समयमा सञ्चार सेवा अत्यावश्यक हुने भन्दै एनसेलले प्रत्येक रिचार्ज तथा डेटामा बोनसका साथै घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकेज ल्याएको छ। सँगै एनसेल सापटीमा विभिन्न सुविधाहरु थप गरिएको कम्पनीले जनाएको छ।
एनसेलले ग्राहकमैत्री अफरहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुसँग सम्पर्कमा रहिरहन वा कुनै पनि आपतकालीन अवस्था आए आवश्यक सहयोग प्राप्त गर्न योगदान पुग्ने जनाएको छ। एनसेलले प्रत्येक रिचार्जमा बोनस डेटा अनुसार ५० रुपैयाँ वा सो भन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा दिने जनाएको छ।
५० देखि ९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्ने छन्। उक्त बोनस डेटा एक दिनको लागि मान्य रहने एनसेलले जनाएको छ।
एक सयदेखि एक सय ९९, दुई सयदेखि दुई सय ९९, तीन सयदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकहरुले क्रमश एक सय, दुई सय, तीन सय एमबी डेटा बोनसको रुपमा प्राप्त गर्ने बताइएको छ। पाँच सयदेखि नौ सय ९९ को रिचार्जमा ग्राहकहरुले पाँच सय एमबी बोनस डेटा तथा एक हजार रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा एक हजार एमबी डेटा बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ।
त्यसैगरी, एनसेलले ३० दिने डेटा प्याकमा डबल डेटा प्याकेज सार्वजनिक गरेको छ। वैशाख २१ मंगलबारबाट सार्वजनिक भएको यो अफर अन्तर्गत ग्राहकहरुले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबरकै थप डेटा बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ। ग्राहकले करसहित दुई सय ४९ रुपैयाँमा तीन दशमलब पाँच जीबी डेटा लिन सक्ने र त्यति नै डेटा भोल्युम बोनस गरी कुल सात जीबी डेटा पाउने एनसेलले जनाएको छ।
करसहित तीन सय ९९ रुपैयाँमा ६ जीबी डेटा खरिद गर्ने ग्राहकले थप ६ जीबी बोनस प्राप्त गरी गरी कुल १२ जीबी र चार सय ९९ रुपैयाँमा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउने एनसेलले जनाएको छ। यस्तै, एनसेलले वर्क फ्रम होम शीर्षकमा छुट्टै अफर सार्वजनिक गरेको छ। कोरोना महामारीको समयमा कामकाजसँगै शैक्षिक गतिविधिहरु घरबाटै गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ।
दैनिक डेटा प्याकमा ग्राहकले करसहित ३१ रुपैयाँमा दुई जीबी एप डेटा प्राप्त गर्न सक्ने र उक्त डेटा भोल्युम मार्फत् माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ। साथै, एनसेल प्रयोगकर्ताहरुले एक सय ५० एमबी अलटाइम डेटा पनि प्राप्त गर्ने सक्ने बताइएको छ। साप्ताहिक प्याकअन्तर्गत एनसेलले करसहित एक सय २७ रुपैयाँमा १४ जीबी एप डेटा तथा तीन जिबी अलटाइम डेटा प्रयोग गर्न सक्ने जनाएको छ।
ग्राहकहरुले *१७१२३# डायल गरी वर्क फ्रम होम अफर अन्तर्गतका प्याक आवश्यकता अनुसार रोज्न सक्ने जनाएको छ। प्याक अन्तर्गतको निश्चित भोल्युम प्रयोग भइसकेपछि भने विद्यमान् डेटा शुल्क लाग्ने बताइएको छ। विभिन्न जिल्लाहरुमा निषेधाज्ञाका कारण बजारमा रिचार्ज कार्ड लिन सहज नभएको भन्दै एनसेलले मोबाइल बैंकिङ, वालेट, एनसेल एप, च्याटबोट तथा वेबसाइट मार्फत सेवा तथा सुविधा सजिलै लिन सक्ने जनाएको छ। एनसेलले एक दिनको प्याक (१८ रुपैयाँ), सात दिनको प्याक (९८ रुपैयाँ), १४ दिनको प्याक (एक सय ३९ रुपैयाँ) को खरिदमा एक सय ५० एमबीदेखि दुई जीबीसम्म बोनस डेटा पाउने जनाएको छ।
ट्रीपल मजा प्याक अन्तर्गत सात दिनको प्याक (एक सय नौ रुपैयाँ), १० दिनको प्याक (एक सय ४७ रुपैयाँ) र ३० दिनको प्याक (चार सय ५९ रुपैयाँ) को खरिदमा ०.५ जीबीदेखि ०.७५ जीबीसम्म बोनसको फाइदा लिन सक्ने जनाएको छ। त्यस्तै, एनसेलले सापटीमा समेत विभिन्न सुविधा सार्वजनिक गरेको छ। ग्राहकले अब सापटी सेवा अन्तर्गत पुरानै सेवा शुल्कमा ८० रुपैयाँसम्म सापटी लिन सक्ने जनाएको छ। एनसेल प्रयोगकर्ताहरुले १२ सय एमबी डेटा सापटीमा लिन सक्ने र यो सुविधाका लागि डेटा शुल्क तथा सेवा शुल्क र करसहित ८२.५५ रुपैयाँ रिचार्ज गरी तिर्न सक्ने जनाएको छ।
सापटी सेवामै ग्राहकहरुले एक दिनको समयसीमा रहेको १५ मिनेटको टकटाइम कुल १२.५५ रुपैयाँमा र दुई सय एमबी डेटा २२.५५ रुपैयाँमा किन्न सक्ने जनाएको छ।



लोकपाटी न्यूज
