वैशाख २७ गते गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धकाे अविश्वास प्रस्तावमा मतदान हुने

लोकपाटी न्यूज

कास्की। गण्डकी प्रदेश सभाको बैठक आउँदो सोमबार बस्ने भएको छ। बिहीवार (आज) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते सोमवार बिहान ११ बजेका लागि बैठक बोलाउने निर्णय गरेको गण्डकी प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जङ्ग केसीले जानकारी दिए।

बैठकमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनेछ। प्रदेश सभामा वैशाख २ गते दर्ता भएको अविश्वास प्रस्तावमा वैशाख १५ गते मतदान हुने कार्यसूची थियो। संसद् चलिरहेको बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

सोमवार बस्ने बैठकमा कोरोना सङ्क्रमण भएका सांसदहरूलाई छुट्टै बस्ने ठाउँको व्यवस्था गरेर मतदान गर्न पाउने व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ। सङ्क्रमित सांसदले बोल्न भने पाउने छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्