काठमाडौं। नेकपा एमाले स्थायी समिति बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा जीत सुनिश्चित हुने गरी तयारी गर्ने निर्णय गरेको छ। बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल भयो। जीत सुनिश्चित हुने गरी तयारी गर्ने जनप्रतिनिधि र मतदातासँग छलफललाई अघि बढाउने निर्णय भएको छ।’
उम्मेदवारको विषयमा भने कुनै पनि छलफल नभएको उनले बताए। ‘अहिले मतदाताहरूसँग सघन छलफल गर्ने र जितलाई सुनिश्चित गर्ने ढंगले अघि बढ्ने कुरा भएको छ,’ ज्ञवालीले भने। यसअघि अध्यक्ष केपी ओलीले रामबहादुर थापालाई नै उम्मेदवार बनाउने घोषणा महाधिवेशन आयोजक कमिटीको बैठकमा गरेका थिए। तर हालसम्म पनि उम्मेदवारी भने टुंगो लागेको छैन।
राष्ट्रियसभामा बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुने तय भएको छ। माओवादीबाट निर्वाचित बादलले दल त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो। राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका माधव-झलनाथ समूहले काँग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर राष्ट्रियसभाको रिक्त पदका लागि डा. खिमलाल देवकोटालाई अघि सार्ने सहमति भइसकेको छ।
स्थायी समितिमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने विश्वासको मतको विषयमा पनि छलफल भएको ज्ञवालीले जानकारी दिए। उनले संसद्को विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेकाले सघनरुपमा सबै दलहरूसँगको छलफललाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको बताए।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएको छ। बैठकमा उनले काँग्रेससँगको बुधवारको भेटलगायतका राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्।



लोकपाटी न्यूज

