ओलीले बोलाए एमाले स्थायी समिति बैठक

uml
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठक बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्री समेत रहेको अध्यक्ष केपी शर्मा ओलीले बिहान १० बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।

केहीबेरमा बालुवाटारमा बैठक सुरू हुने एक स्थायी समिति सदस्यले बताए। एमालेमा १९ जना स्थायी समिति सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी समिति गठन गरेका थिए।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारी भइरहँदा रणनीतिक छलफलका लागि स्थायी समिति बैठक बोलाइएको हो। नेपाल समूहका सांसदलाई कारवाहीको तयारी ओलीले गरेका बेला स्थायी समिति बैठक बोलाइएको हो।

बुधबार ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए। तर कांग्रेसले विश्वासको मत दिन नसकिने प्रष्ट बताएको छ।

प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सारिरहेका छन्।

त्यस्तै बैठकले बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उप निर्वाचन तथा लुम्बिनीमा हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाउने स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। बाग्मती प्रदेशमा जेठ ६ गते उप निर्वाचन हुँदै छ।

यसअघि बैशाख १० गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले उप निर्वाचनमा एमालेका तर्फबाट रामबहादुर थापा बादल नै उम्मेदवार हुने बताएका थिए। आजको बैठकले यो विषयमा औपचारिक निर्णय गर्ने सम्भावना रहेको छ।

यसका साथै पछिल्लो राजनीति घटनाक्रम र कोभिड १९ को रोकथाम र नियन्त्रणका विषयमा चाल्नुपर्ने थप प्रभावकारी कदमका बारेमा पनि बैठकमा छलफल हुने नेता नेम्वाङले बताए।