काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएको छ। देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए। तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए।
‘विश्वासको मत मैले लिइरहेको छु,लोकतन्त्रका लागि सँगै लडेका हौं। मिलेर जाउँ भन्ने प्रस्ताव ओलीजीबाट आयो’ बैठकपछि काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने। जवाफमा देउवाले ओलीमा विश्वास गर्ने किसिमको लोकतन्त्र नदेखिएको भन्दै ओलीको प्रस्ताव अस्विकार गरे। ‘लोकतन्त्र व्यवहारमा आउनुपर्यो। त्यो देखिएन। विश्वासको मतमा सहयोग गर्न सक्दिनँ,’ देउवाको भनाई उद्धृत गर्दै महतले भने।
कांग्रेसले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा वर्तमान सरकारले देखाएको काम र अध्यादेशबाट लोकतान्त्रिक आचरण नदेखिएको बताएका थिए। त्यसैगरी बैठकमा आफ्नो नेताहरुले कोभिड-१९ संक्रमणमा जनतालाई आश जगाउने खालको काम गर्न सरकारसँग माग गरेको महतले बताए।
ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए। यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।
सरकार गठनका विषयमा विपक्षी गठवन्धन निर्माण भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति बुधबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुलाई भेट्न देउवाको निजी निवास बुढानीलकण्ठ पुगेका थिए।



लोकपाटी न्यूज

