सम्राट नीरो रोमन सम्राटहरुमा क्रुरतम् शासकहरुमध्ये एक थियो – करिब दुई हजार वर्षपहिले। कथा भन्छ, नीरोले आफ्नी आमा र आफ्ना अति आदरणीय गुरु, रोमन साहित्यकार र दर्शनका शिखरपुरुष सेनेकाको हत्या गरेको थियो। शक्तिको उन्मादमा सामान्यतया मान्छे आफ्नो सीमानालाई अतिक्रमण गरेर आसुरी, दानवीय प्रवृत्तिमा सजिलैसँग प्रवेश गर्दछ। अलेक्जेन्डर महानदेखि लिएर अहिलेका दक्षिण एसियाली र नेपालीहरुको शक्ति उन्मत्तत्तामा यसको परिचय पाइन्छ।
यहाँका अधिकांश शक्तिशाली कल्पना र संस्कारको दृष्टिले यति दरिद्र र दिवालिया छन् कि अति नै तुच्छ अधिकार र मादकतामा पनि तिनीहरु आफ्नै पैतालामुनिको जमिनसित विच्छेदित देखिन्छन्। लाग्छ, सबै कुसंस्कृति र बुद्धिहीनहरुको अचेतन गन्तव्य आदर्श नीरो नै हो। यो क्षेत्रका मन्त्रीहरु, तिनीहरुका सल्लाहकारहरु, पत्नीहरु, कर्मचारी र अरु साना ठुला पदाधिकारीहरुको व्यवहार र बोली खबर दिन्छ कि तिनीहरुको बौद्धिक, नैतिक र काल्पनिक स्तर कस्तो छ।
कुनै पुरुष वा स्त्रीको बारेमा राम्रोसित थाहा पाउनु छ भने उसलाई अधिकार र शक्ति भएको स्थानमा राखिदिनुपर्दछ। अनि उसले आफ्नो संस्कार, बाबुआमा, बाजेबज्यै र निकटका सम्पूर्ण वंशावलीको खबर दिन सुरु गर्दछ। संस्कार र कुसंस्कार दुबैको खबर दिन्छ। शक्तिको नशा र शक्तिशालीहरुको चाकरीबाट प्राप्त गरेको अधिकारको नशाको विभिन्न रुप र अवतरणहरु यहाँ भेट्टाइन्छ। थाहा नपाई नपाइकन तिनीहरु सम्राट नीरो हुन चाहिरहेका हुन्छन्।
शक्तिको उन्माद र काउकुतीमा नीरोलाई एक बिहान सनक चढ्योः ‘परापूर्वकालमा ट्रायको दशवर्षे युद्धमा ट्राय नगर जलेको थियो। त्यस्तो सम्पन्न र सांस्कृतिक रुपले अति समृद्ध राज्य कसरी जलिरहेको थियो होला ? म आज उत्तेजित छु, त्यो जलनको झलकको अनुकृत हेर्न। म महामन्त्री, मन्त्री, भारदार र सेनालाई रोम नगर जलाउन आदेश दिन्छु।’ शक्तिशाली सम्राटको आदेश अक्षरशः पालना गरियो। ऐश्वर्यशाली रोम जल्न थाल्यो प्रचण्ड रुपले।
सम्राट नीरोले आफ्नो सबैभन्दा बढी मनपर्ने बाँसुरी निकाल्यो र बजाउँदै नाच्न थाल्यो आगोको वरिपरि। हाम्रो पौराणिक ताण्डव नृत्यको एक वीभत्स पश्चिमेली अवतरण थियो त्यो नृत्य र त्यो संगीत। इतिहासकारहरुका थरी थरीका बयानहरु छन्, एकथरी भन्छ– केही वर्षपछि नीरोले त्यो प्रचण्ड ज्वालामा आत्मदाह ग¥यो, दोस्रो थरी भन्छ– नीरोले आत्महत्या गर्यो, तेस्रो थरी भन्छ– नीरो पागलपनको अन्तिम सीमामा पुगिसकेको थियो र पागलपनमै उसको मृत्यु भयो।
२००० वर्षपहिलेका नीरो र २१ औं शताब्दीका ओलीबिच गज्जबको संयोग छ – नीरो नागरिकको चित्कार सुनेर गज्जबको आनान्दानुभूति गर्थे, ओली पनि महामारीका बिच पनि सीताराम रथयात्रा र पशुपतिमा गजुर थप्ने भन्दै नागरिक पीडाको मजाक उडाइरहेका छन्। एउटा युक्ति प्रसिद्ध छ – ‘रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ।’
सत्यतथ्य जे सुकै होस्। तर एक सार्वभौम, सनातन सत्य जे भने त्यो घटनाले मनुष्य जातिलाई प्रेषित गरिरहनेछ कि परिष्कानहीन, संस्कारहीन, कल्पनाहीन मान्छेको हातमा शक्ति आयो भने उसको आत्मा र विवेक शक्तिमादकतामा ध्वस्त हुँदै जान्छ र साथै उसले शक्ति प्रदर्शन गर्ने सानो वा ठूलो शासन क्षेत्र पनि ध्वस्त हुन्छ।
सानो संस्था होस् कि सम्पूर्ण साम्राज्य होस्। मानवजाति नीरोको उदाहरणको बाबजुत त्यहीं गल्ती पटकपटक वीभत्स रुपमा दोहोर्याइरहेको छ ।
नीरोको आगो लगाइले रोमको त्यति हानी भएन जति नीरो अरु धेरै वर्ष बाँचेर शासन चलाएको भए हुन्थ्यो। रोम त केही वर्षभित्र पुन निर्मित हुनसक्छ तर बौलट्ठी शासनको छाप मेटाउन धेरै समय लाग्छ। धेरैजसो एसिया र अफ्रिकाका देशहरुमा धेरै समानता भेटिन्छ। तर सोंच्न सक्ने संवेदना भएका मान्छेहरु एकातिर आफ्नो देशलाई माया गर्दछन् भने अर्कोतिर आफ्नै देशको दुरावस्थाबाट विछुब्द पनि हुन्छन्।
यस्तो प्रसङ्गमा आफ्नो देशको, नेपालको गत पाँच दशक लामो इतिहासतिर एक डेढो विहंगम दृष्टि फ्याँक्ने मन लागिहाल्छ। राणाकालीन समय शान्त थियो, अशिक्षित थियो, निरक्षक थियो, बन्द थियो। अहिलेको तुलनामा भ्रष्टाचार शून्य थियो। पारिवारिक शासनको निरङ्कुशताभित्र सीमित थियो। तर त्यहाँ स्वभाविक हाँसो थियो, स्वतः स्फूर्त नृत्य र गीत थियो। किनकि हामीहरु आधुनिक सभ्यताको हावाबाट त्यति कलुषित भइसकेको थिएनौँ। राणाकालीन अन्धयुगबाट प्रजातान्त्रिक युगको प्रकाशमा आएको दाबी हामी लगभग ५० वर्ष पहिलेदेखि गरिरहेका छौँ। गत नौ–दश वर्ष यतादेखि त कानै खाने स्वरलहरीमा गरिरहेका छौँ– प्रजातन्त्रको जति यशोगन जुन ध्वनि–आयतन हामीहरु जस्तै स्वतन्त्र भएको अरु कुनै देशले गरेन होला। प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक मूल्यहरुका लागि जति यो देशमा शहीदहरु भए, नेताहरुले सङ्घर्ष गरे त्यति सायद अरु कुनै पछौटे सानो देशमा भएन होलान्।
आदर्श नेताहरुले कठोर यथार्थसितको तालमेल मिलाउन असाध्य कठिनाइको अनुभव गरे। प्रजातन्त्रको वास्तविक माग हो प्रजातन्त्रभोगीहरुको जिम्मेवारीपूर्ण व्यवहार। आफ्नो अधिकार मात्र होइन, कर्तव्यप्रति पनि सतत सचेतना, औपचारिक शिक्षा होइन, वास्तविक रुपले शिक्षित र संवेदनशील नागरिक समाज, नैतिक मूल्यहरुको निरन्तर चेतना, सामाजिक असमानता र अन्यायबाट द्रबित हुन सक्ने हृदयहरु र चाटुकारिताको कठोर निरुत्साहन, मानवीय गरिमाको प्रोत्साहन, सन्चालन गर्ने नेताहरुमा उदार दृष्टि भविष्यदृष्टि कल्पनाशीलता, निर्णयक्षमता, उदारता र सहनशीलता, आफै भ्रष्टाचारप्रति आकर्षित नहुने र भ्रष्टहरुलाई दण्ड दिन सक्ने साहस, स्वभाविक विनम्रता अथवा दम्भहीनता आदि। हाम्रो देश, हाम्रो समाजको यथार्थ ठीक यसको विपरित हुन गयो।
अनि पैदा भयो सन्ताप– अन्तरकण नभएका, आत्माहीन, भ्रष्टाचारी, तस्कर, केटी बेचुवा, कमिसनखोर, चाटुकारहरु छाडेर अहिले सम्पूर्ण देशवासीहरु हतास छन्, सन्तप्त छन्, पीडित छन्। इमान्दार र सोझासाझा नेपालीहरुमाथि चारैतिरबाट मार परिरहेको छ। भित्रभित्रै नेपाल मन्द गतिले गलिरहेको छ, खोक्रो हुँदै गइरहेको छ, अशान्त असुरक्षित अनुभव गरिरहेको छ। यस्तो अवस्थाको लागि इतिहासको भण्डारबाट रुपक, प्रतीक प्रतिमान, उपमा खोज्नुपर्दा उचित देखिन्छ।
नीरोको कथा २ हजार वर्षपहिलेको हो। तर, नेपालमा २१ औं शताब्दीमा पनि झण्डै नीरोको झल्को दिने गरी ओलीले शासन गरिरहेका छन्। ओली शासन र नीरो शासनमा एउटा गज्जबको संयोग छ – नीरो पनि आफ्नो सत्ताका निम्ति जस्तोसुकै कूकर्म गर्न पछि पर्दैनथे। ओली पनि ठ्याक्कै त्यस्तै गरिरहेछन्।
नीरोलाई जस्तै ओलीलाई पनि नागरिकको पीडाप्रति कुनै सन्ताष, नागरिक क्रन्दनप्रति सहानुभूति, अभाव र गरीबीप्रति पीडावोध भएको देखिँदैन। लाखौं नागरिक भोकमरिमा छन्, ओली पशुपतिमा गजुर थप्दैछन्, हजारौं नागरिक अस्पताल नपाएर सडकमा छट्पटाउँदैछन्। तर, ओली सीताराम रथयात्रामा मन्त्रमुग्ध छन्। २००० वर्षपछि देखिएको यो बिडम्वनापूर्ण संयोगले देशलाई भने बर्बर युगको झल्को दिने गरी अन्धकारतिर धकेल्दैछ।
भनिन्छ, ‘शासकहरु क्रुर नै हुन्छन्। राज्यसत्ता नै त्यस्तो दमनको अस्त्र हो, जसले नागरिकको आर्थिक र राजनीतिक स्वतन्त्रतामाथि नियन्त्रणको डण्डा बर्साउँछ। तर, ओली जति क्रुर शासक २१ औं शताब्दीको विश्वमा कमै देख्न पाइन्छ। त्यसैले त नेपाली राजनीतिक वृत्तमा पनि एउटा युक्ति प्रसिद्ध छ – ‘रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ।’



लोकपाटी न्यूज

